site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब दिएको छैन : सांसद बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले उपसभामुखको राजीनामाका लागि दबाब नदिएको बताएका छन् ।

मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब नदिएको बताए । उनले उपसभामुखले गरेको काम पदीय जिम्मेवारी अनुकूलको नभएको भन्दै मार्ग प्रशस्त गर्ने कुरा उपसभामुख स्वयंकै भएको उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपसभामुखको विषय सरकारले सिर्जित गरेको नभइ संसद्‌मा उठेको विषय भएको बताए । उपसभामुखले संसद्सँग असम्बन्धित व्यक्तिहरूलाई भिसाका लागि अमेरिकी दूतावासमा पत्र लेख्नुले संसद्को मर्यादामाथि हुर्मत लिएको उनको भनाइ छ ।

उनले भने,  "उपसभामुखसँग जोडिएको घटना संसद्को विषय हो । संसद्‌मा उठेका विषय हुन् । सरकारले बनाएको, सरकारद्वारा सिर्जित समस्या, विषय होइन । उहाँले गर्नु भएको काम पदीय जिम्मेवारी अनुकूल होइन । त्यो कुरा बेठिक हो । बेठिक हो भन्ने कुरा संसद्‌मा उठ्यो । दूतावाससँग भिसा माग्न पत्राचार गरेको व्यवहारबाट अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको संसद्को पदाधिकारीको हैसियत के हो भन्नेकुरा जसरी उजागर भएको छ, संसद्को मर्यादामाथि हुर्मत लिने काम गरेको पनि तथ्य हो ।"

उनले प्रतिपक्ष दलहरूले उपसभामुखको विषयमा संसद्‌मा बोलेर परिस्थिति भड्काउने काम गरेको आरोप लगाए । प्रतिपक्षले सत्ता पक्षलाई उत्तेजित पार्ने कोसिस गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्