site stats
बाह्रखरी :: Baahrakhari
देश
दाइजोस्वरूप गाउँ नै दिने प्रथा अझै कायमै

सुनसरी । तराई मधेस क्षेत्रमा दाइजो प्रथा अझै कायमै छ। मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरीको विवाह गर्दा दाइजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दू नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ ।

यहाँका मरिक समुदायमा हालसम्म छोरीको विवाह गर्दा दाइजोमा गाउँनै दिने गरिएको छ । सुनसरीका विभिन्न क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका व्यक्तिले अहिले पनि छोरीको बिहेमा गच्छेअनुसार गाउँ नै दाइजोको रूपमा दिने प्रचलन रहेको सुनसरी हरिनगर–२ का अगुवा भट्टाई मरिकले  जानकारी दिए । 

मरिक समुदायका व्यक्तिले छोरीको बिहे गर्दा ज्याइँ गाउँमा नै बसोबासका लागि राजी भएमा एउटा गाउँ नै दाइजोस्वरुप दिने गरेको भट्टाईले सुनाए । हरिनगर–३ का चन्दन मरिकले भने, “हो ज्वाइँ राजी भएमा गाउँ नै दाइजोमा दिने चलन छ । यसको उद्देश्य छोरी र भोलि जन्मिने सन्ततीलाई सहज होस् भन्ने हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मरिक समुदायको मुख्य पेसा सरसफाइ गर्ने, बिहेबारीमा आफ्नो गाउँका यजमानलाई बाँसको सामग्री पुर्याउने, चाडबाडका बेलामा बाँसका सामग्री बनाएर बिक्री गर्ने हो । 

चाडपर्व, व्रतबन्धलगायत अवसरमा बाँसको सामग्री प्रयोग अनिर्वाय भएकाले एकजनाको गाउँमा अर्को मरिक समुदायका व्यक्तिले बिक्री गर्न नपाइने आन्तरिक सहमति हुन्छ । विशेष गरी ग्रामीण भेगमा बसोबास गर्ने नागरिकले तोकिएका व्यक्तिबाटै विभिन्न सामग्री लिने गरिन्छ । यजमानले लिएको सामग्रीवापत मरिक समुदायका व्यक्तिले चामल, धान, गहुँ, नगद र बाँस लिने गरेका छन् ।

विभिन्न किसिमका सामग्री बिक्रीका लागि बजारमा जानुपर्ने वा गाउँघरमै पसल गरेर बिक्री गर्नुपर्ने बाध्यता भए पनि मरिक समुदायका व्यक्तिले आफूले बनाएको सामग्री बिक्री गर्नका लागि गाउँ नै बाँडफाँट गरेको हुन्छ ।

कुन गाउँ वा टोलमा कुन परिवारले कारोबारको जिम्मा लिने भनेर आपसी समझदारी हुन्छ । एकले अर्काको गाउँमा सामग्री बिक्री गरेमा समाजले जरिबानासमेत गर्ने गरिएको छ । 
 
आफ्नो क्षेत्र बेच्न चाहनेले कारोबार अनुसारको रकम लिई बेच्नसमेत सक्ने चलन रहेको छ । 

एक गाउँ बेच्दा तीन लाखदेखि चार लाख वा सामाजिक मूल्यांकनअनुसार रकम लिने दिने गरिन्छ । सोही गाउँ मरिक समुदायका व्यक्तिले छोरी–ज्वाइँलाई गाउँमै बस्ने सर्तमा दाइजो स्वरुप दिने गरिउको हरिनगर–२ का वीरेन्द्र मरिकले बताइए । 

दाइजोमा दिएको गाउँमा उनीहरूले कारोबार गर्ने अनुमतिसमेत पाउने र मरिक समाजले त्यसलाई स्वीकार गर्ने चलन रहेको उनले सुनाए । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  ०६:०९
प्रतिक्रिया दिनुहोस्