site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गगन थापासहितले गरे पर्यटनमन्त्रीको दुई विषयमा ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई विषयमा पर्यटनमन्त्री बद्री पाण्डेको ध्यानाकर्षण गराएका छन् ।

हवाई भाडामा भएको अस्वाभाविक वृद्धि र कोरिया जाने युवाहरू अस्वाभाविक भाडा तिर्न बाध्य भएको विषयमा पर्यटनमन्त्री तथा मन्त्रालयका सचिव र कर्मचारीहरूसहित राखेर ध्यानाकर्षण गराएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हवाई भाडा वृद्धिका तीनवटा विषयमा ध्यानाकर्षण गराएका छन् । “अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको निर्माण कार्यको कारण फ्लाइटको संख्या कम भएको र यसको कारण भनेर अन्तर्राष्ट्रिय हवाई भाडादर अस्वाभाविक रूपमा वृद्धि भएको छ । जसको सिधा असर आम मानिसमा परेको छ,” थापाले भनेका छन्, “हामीले यो सम्बन्धमा मन्त्रालयको धारणा सुन्याँै । यसलाई सुधार गर्न के काम भइरहेको छ भन्ने जानकारी लियौँ ।”

उनले डिसेम्बर महिनाबाट अहिलेको अवस्थामा सुधार हुने भनिए पनि सबै उपाय लगाएर भाडादर नियन्त्रण गर्न सुझाव दिएका छन् । उनले विमानस्थल निर्माणकै कारण भाडामा अस्वाभाविक वृद्धि भएको भन्दै निर्माणको गति बढाउने अवधि घटाउने विषयमा राखेको चासोमा मन्त्रालयले अध्ययन गरेर आवश्यक कदम चाल्ने आश्वासन दिएको छ । कांग्रेस सांसद संजय गौतमसहित पुगेका थापाले कोरियामा जाने श्रमिकहरू महँगो हवाई भाडदारका कारण मारमा परेको भन्दै त्यसको पनि विकल्प खोज्न आग्रह गरेका थिए ।

“नेपाल वायुसेवालाई नै कोरिया उडान गराएर हुन्छ वा अन्य विकल्प खोजेर हुन्छ जसरी पनि यो समस्या समाधान गर्नुपर्छ भन्ने धारणा राख्यौँ,” थापाले भनेका छन्, “यस सम्बन्धमा मैले अध्ययन गरेर, अन्तर्क्रिया गरेर लिएको सबै कुराको जानकारी गराएको छु । यसका लागि मन्त्रालयले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, इपीएस, नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरणलगायत सम्बन्धित सबै निकायसँग एकै ठाउँमा बसेर समन्वय गरी तत्काल  निचोडमा पुगेर कार्यान्वयनमा लिएर जानुपर्नेछ ।”

थापाका अनुसार मन्त्री पाण्डेले ‘तुरुन्त काम हुने गरी प्रक्रिया अगाडि बढाउँछु’ भन्ने आश्वासन दिएको खुलाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्