site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपतिनाथस्थित आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुंगानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । ढुंगानाको पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिए ।

पूर्वसभामुख ढुंगानाको सम्मानमा १७ तोपको सलामी समेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको ८३ वर्षको उमेरमा उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार दिउँसो निधन भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, सांसद, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता र विभिन्न पेसा, व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुगेका थिए ।

अस्पतालमा निधन हुनासाथ ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएकामा आजै बिहान ज्ञानेश्वरस्थित सानोगौचरणमा ल्याई उनीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, कांग्रेस सभापतिसहित विभिन्न राजनीतिक दलका नेताले सानोगौचरन पुगेर उनीप्रति श्रद्धाञ्जली प्रकट गरे । नेपाल सरकारले आजै उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उनको योगदानको सम्मान गर्दै सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गरिरहेका ढुंगानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्न समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरे । राजनीतिक क्षेत्रमा देखिएको विकृति र विसंगतिबारे स्पष्ट र खरो रूपमा प्रतिक्रिया दिँदै आएका उनी संविधान तथा कानुनका ज्ञाता थिए ।

०४८ सालमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बनेका थिए । नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गर्न उनको ठूलो योगदान छ ।

०४७ सालको संविधान निर्माणका निम्ति गठित आयोगको सदस्य समेत रहेका ढुंगानाले मुलुकमा अहिले देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्दै संघीयतालाई सबल बनाउन वर्तमान संविधान संशोधनका निम्ति कानुनका ज्ञाता र राजनीतिक व्यक्तित्वसँग छलफल चलाउँदै आएका थिए । रासस

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्