site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ऋण लिनै नहुने कांग्रेसको अडान आपत्तिजनक : झलनाथ खनाल

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजनाअन्तर्गत ऋण लिनै नहुने सत्तारूढ कांग्रेसको अडानप्रति आपत्ति जनाएका छन् । 

सोमबार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूको छलफलपछि सञ्चारकर्मीमाझ उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । सम्मानित नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजनाअन्तर्गत ऋण लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने उल्लेख गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सो परियोजना विश्वका दुईतिहाइ मुलुकले स्वीकार गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सार्वभौम देशले पनि आफ्नो आवश्यकताको आधार अघि बढाउनुपर्ने सुझाव आफूले प्रधानमन्त्री ओलीलाई दिएको पनि स्पष्ट पारे । सो परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकार कुनै पनि खालको आग्रह वा पूर्वाग्रहको पासोमा पर्न नहुने खनालको भनाइ थियो ।  

"बीआरआईको जुन कुरा छ । यो अहिलेभन्दा १० वर्ष पहिले चीनले सुरुवात गरेको अवधारणा हो । यो अवधारणा हाल ग्लोबल अवधारण बनिसक्यो । विश्वका १५३ मुलुकसँग सहमति भएको छ । करिब तीन हजार सम्झौता बनिसकेका छन् । बीआरआई र ती मुलुकहरूको बीचमा लगानी मात्रै हेर्दा १.४ ट्रिलियन डलर लगानी भएको देखिन्छ," उनले भने, "यो भ्रमणमा ऋण सम्झौता गर्नु हुन्न भने त्यो तपाईंको कुरा भयो । तर, चीनसँग लोन लिनै हुँदैन, बीआरआईसँग लोन लिनै हुँदैन भन्ने नीति बनाउन लागिएको हो भने यो चाहीँ असाध्यै आपत्तिजनक कुरा हो भन्ने कुरा हामीले राखेका छौँ ।"   

बीआरआई परियोजना ऋण लिने वा अनुदान लिने भन्नेकुरा नेपाल आफैँले फैसला गर्ने भएकाले त्यसमा अरु देशको दबाबको कुनै अर्थ नहुने पनि सम्मानित नेता खनालले दोहोर्‍याए । 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्