site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निषेधित अवधि सुरु, के गर्न पाइँदैन ?

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको निषेधित अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेधित अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ ।

स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागु हुन्छ । निर्वाचन प्रचारप्रसार निषेधित अवधि यही मंसिर १३ गते राति १२ बजेदेखि सुरु भएको हो । 

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उमेदवार, दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि यो अवधिमा गर्न पाइँदैन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निषेधित अवधिमा कुनै उमेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा आयोजना गर्न, जुलुस निकाल्न, नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न पाइने छैन ।

निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि कार्य गर्न पाइँदैन । 

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न तथा नगराउनसमेत आयोगले आग्रह गरेको छ ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर नगर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्याल जानकारी दिइन् । 

निर्वाचन प्रचारप्रसार निषेध गरिएको अवधिमा निर्वाचन आचारसंहिताबमोजिम कार्य भए वा गरेको पाइए केन्द्रीय आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समिति, स्थानीय प्रशासन, सुरक्षाकर्मी, अनुगमन अधिकृतबाट समेत सुक्ष्म अनुगमन गरी कारबाही गरिने आयोगले जनाएको छ । 

निर्वाचन आचारसंहिता उल्लंघन गरिएको पाइएमा तत्काल कानुनबमोजिम कारबाही गरी मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले आग्रह गरेको छ । 

आगामी आइतबार मतदान हुँदै छ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ । 

निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ०५:५६
प्रतिक्रिया दिनुहोस्