site stats
बाह्रखरी :: Baahrakhari
देश
सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

सिरहा । स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को मृत्यु प्रकरणमा दुईजनालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सोधपुछका निम्ति दुईजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आइतबार पक्राउ गरी आवश्यक बयान लिने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । घटनामा प्रयोग गरिएको गाडी र संलग्न व्यक्तिको पनि पहिचान भइसकेको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल–भारत सीमानजिकै बडियारपट्टी, कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आइतबार बिहान मृत्यु भएको थियो । ठक्कर दिएर उक्त स्कोरपियो भारततर्फ फरार भएको थियो ।

प्रादेशिक अस्पतालमा यादवको शव परीक्षण गरी आइतबार साँझ नरहा गाउँपालिका–४ स्थित घरमा ल्याएर अन्त्येष्टि गरिएको थियो ।

यसअघि, अवैध मदिरा ओसारपसार गरिरहेको गाडीलाई रोक्न खोज्दा योजनाबद्ध रूपले किचेर हत्या गरिएको आरोप लगाउँदै आफन्तसहित स्थानीय बासिन्दाले पूर्व–पश्चिम सडकको लहानखण्ड अवरुद्ध गरेका थिए । रासस

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्