site stats
बाह्रखरी :: Baahrakhari
देश
टिक्दै नटिक्ने मुद्दामा वरिष्ठ अधिवक्ताको उपस्थिति देखिए छवि प्रस्ट हुन्छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयलाई गरिमामय बनाउन सबैले जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा सर्वोच्च अदालतले आयोजना गरेको वरिष्ठ अधिवक्ताको प्रमाणपत्र वितरण कार्यक्रममा उनले गरिमामय वा स्वच्छ न्यायालयले त्याग, समर्पण, गहिरो अध्ययनलगायत विषयको माग गर्ने भएकाले त्यसका निम्ति सबै तयार हुनुपर्नेमा जोड दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

न्यायालयलाई गरिमामय र स्वच्छ बनाउन आफू तयार रहेको भन्दै उनले सुधारका धेरै प्रयास थालिएको जानकारी दिए ।

प्रधानन्यायाधीश राउतले टिक्दै नटिक्ने मुद्दामा वरिष्ठ अधिवक्ताको उपस्थिति देखिए छवि र स्तर प्रस्ट हुने भएकाले सजग हुन सुझाव दिए । अदालतमा पुग्नै नहुने मुद्दा पुग्दा वरिष्ठ अधिवक्ताको छविका साथै न्यायालयको समय पनि बर्बाद हुने उनको भनाइ थियो ।

“कहिले साथी, कहिले पावर सेन्टरको दबाबमा, कहिलेकाहीँ आकर्षक पारिश्रमिकको आधारमा पुग्छ नि, त्यतिखेर टिक्दै नटिक्ने मुद्दामा वरिष्ठज्यूहरूको अदालतमा उपस्थिति देखियो भने इमेज कस्तो होला ? स्तर कस्तो होला ? अरूले पनि नियाल्छ नि ! जस्तै, हामी न्यायाधीशहरूलाई अरूले नियालेका छन् नि, इमेज कस्तो हुन्छ ? यसको उत्तर मैले दिनु शोभनीय हुन्न, यो जिम्मा मैले तपाईंहरूलाई छाडेँ,” उनले भने । 

न्यायालयलाई स्वच्छ बनाउने काममा हातेमालो गर्न उनले वरिष्ठ अधिवक्ताको उपाधि पाएकाहरूलाई आग्रह गरे । वरिष्ठ अधिवक्ताको जिम्मेवारी सबैका निम्ति अनुकरणीय हुनुपर्नेमा उनले जोड दिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्