site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधान र संघीयता बचाउन कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे
फाइल तस्बिर ।

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान संविधान र संघीयतालाई बचाउन कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । 

नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद्को ५०औँ बैठकको आज सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लोकतन्त्र स्थापना र कानुन निर्माणमा कानुन व्यवसायीको भूमिका रहेजस्तै संरक्षणमा पनि दायित्व निर्वाह गर्नुपर्ने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संविधानअनुसार प्रदेश कानुन बन्न नसक्दा प्रदेश सरकारले काम गर्न नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले सात प्रदेशका मुख्यमन्त्रीको आवाज केन्द्र सरकारले नसुन्दा कानुन व्यवसायीले संविधान कार्यान्वयनमा आवाज उठाउन नसकेको जिकिर गरे । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले  विधिको शासन कायम गर्न कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने भएकाले देशलाई सही बाटोमा हिँडाउने दायित्व कानुन व्यवसायीको रहने बताए । 

उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बादचनले अदालत र बारको सम्बन्ध नङ र मासुको जस्तो भएकाले बारलाई पन्छाएर अदालत एक्लै अगाडि बढ्न नसक्ने बताए । न्यायसम्पादनमा सहयोगी भूमिका खेल्ने कानुन व्यवसायीको योगदान महत्त्वपूर्ण हुने बताउँदै उनले न्याय क्षेत्रका बारेमा घनीभूत छलफल गरी विकृति र विसंगति हटाउनुपर्नेमा जोड दिए । 

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले वर्तमान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बारलाई बाइपास गरेर अगाडि बढ्न खोजेको आरोप लगाए । ‘‘हामी बेन्च र बारको सम्बन्ध बलियो बनाउन चाहन्छौँ,’’ उनले भने, “बारले उठाएका माग गलत छैनन् ।” 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्