site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुलुक र जनताको हितका लागि अध्यादेश : सरकारका प्रवक्ता 

काठमाडौं । सरकारले मुलुक र जनताको हितका लागि संवैधानिक तवरले अध्यादेश ल्याइएको स्पष्ट पारेको छ ।

पुस १६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई सुशासनतर्फ अघि बढाउन सरकारले संवैधानिक तवरले अध्यादेश ल्याएको स्पष्ट पारे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारले सिफारिस गरेका अध्यादेशबारे जानकारी गराउँदै प्रवक्ता गुरुङले सरकारले माघ ११ देखि १५ गतेसम्म संसद् आह्वान गर्ने तयारी गरेको अवस्थामा अध्यादेश सदनमा प्रस्तुत गर्ने र थप छलफल गर्ने बताए । उनले सरकार संसद्बाट भाग्न खोजेको आरोप उचित नभएको भन्दै संसद् कुर्दा ढिला हुने भएकाले अध्यादेश सिफारिस गरिएको जानकारी दिए । 

त्यस्तै, प्रवक्ता गुरुङले पुस १६ गते बसेको मन्त्रिपरिषद्ले समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने करिब एक अर्ब ६३ करोड रुपैयाँबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताए । 

त्यस्तै, बैठकले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी ६ अर्ब ४८ करोड १७ लाख १२ हजार २ सय ५० कायम गर्न स्वीकृति प्रदान गरेको छ भने चालू आर्थिक वर्षको लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा निर्धारण गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए । 

बैठकले राजस्व न्यायाधीकरण काठमाडौंको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई तोक्ने निर्णय गरेको छ भने अध्यागमनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्