site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारी कार्यालयले सात दिनभित्र सेवाग्राहीको काम पूरा नगरे कारबाही

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले रहरले नभई आवश्यकताले अध्यादेश ल्याएको बताएका छन् । नेपाल मगर संघले आज काठमाडौंको टुँडिखेलमा आयोजना गरेको माघेसंक्रान्ति पर्वको उद्घाटन गर्दै उनले जनतालाई छिटोछरितो सेवा प्रदान गर्न अध्यादेश जरुरी रहेको धारणा राखे । 

सरकारका प्रवक्ता मन्त्री गुरुङले नेपालमा विकासका काममा अवरोध सिर्जना गर्ने थुप्रै जटिल कानुनी प्रक्रिया रहेको र प्रक्रियागत कानुन बनाउन ६ वर्षभन्दा बढी समय लाग्ने गरेको बताए । “यसरी कानुनी प्रक्रियामै अल्झिँदा विकासमा अड्चन आइरहेको छ । यसले जनताको सेवामा बाधा पुग्नाका साथै मुलुकको विकासमा अवरोध सिर्जना हुँदै आएको थियो,” उनले भने, “त्यसै कारण जनतालाई सेवा सुविधा दिने कुरामा सहज होस् भनेर सरकारले अध्यादेश ल्याएको हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री गुरुङले अध्यादेशले  सूचना प्रविधि (आइटी) सम्बन्धी व्यवसाय गर्नेहरुलाई सहज वातावरण सिर्जना गर्ने र विदेशी कम्पनीसँग ऋण लिन पाउने व्यवस्थाले व्यवसायको विकासमा प्रोत्साहन मिल्ने जिकिर गरे । 

यस्तै, उद्यमीले सहुलियत पाउने, काममा आएका झन्झट, सार्वजनिक प्रशासनिक सेवाको ढिलासुस्ती हटाउन, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न अध्यादेश ल्याउनु परेको उनले प्रस्ट पारे । 

“अब उप्रान्त तपाईं कुनै सरकारी कार्यालयमा पुग्नुभयो र तपाईंको काम सात दिनभित्र पूरा गरेन भने स्पष्टीकरण दिनुपर्ने वा कारबाही गरिनेलगायत प्रबन्ध गरेका छौँ,” उनले भने, “गाउँपालिका वा नगरपालिकामा अध्यक्ष र उपाध्यक्ष निलम्बन भए भने कसले प्रशासन चलाउने ? यस्तो वेलामा गाउँ कार्यपालिका सदस्यहरू आफूमध्येबाट जुन व्यक्तिलाई छनोट गर्छ, त्यसैले पालिका चलाउन पाउने व्यवस्था राखेका छौँ ।” यसले जनताको सेवामा आउने अवरोध हटाउने मन्त्री गुरुङको विश्वास छ ।रासस

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्