site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदबीच चर्काचर्की : लामाले धम्क्याए, दाहालको प्रतिवाद– कुस्ती खेल्ने भनेको हो ?
तस्बिर : रासस ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा सत्तारूढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसदबीच मंगलबारको बैठकमा चर्काचर्की भएको छ ।

लेखा समितिमा सत्तापक्षको नेतृत्व हुँदा यसको पहिचान कायम हुन नसकेको भन्दै माओवादी सांसदले मार्गप्रशस्त गर्न सभापति ऋषिकेश पोखरेललाई आग्रह गरे । उनीहरूले समिति सभापति पोखरेलकी श्रीमती अञ्जला कोइराला सहकारी ठगीमा तानिएको र स्वकीयसचिव भ्रष्टाचार प्रकरणमा पक्राउ परेको भन्दै नैतिकताका आधारमा समेत पद छाड्न माग गरे ।

तर, एमाले सांसद तारा लामाले आइन्दा सभापतिका विषयमा प्रश्न नउठाउन भनेपछि बैठकमै चर्काचर्की भएको हो । “अनौपचारिक कुरामा अँगालो मारेर हिँड्ने । सधैँ सभापतिलाई पेलेको छ । एजेन्डामा बहस हुँदैन,” लामाले भने, “सधैँ यो बोल्ने भए, अबदेखि बोले राम्रो हुँदैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लामाले चेतावनीसहित बोलेपछि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्काल प्रतिवाद गरे । उनले असंसदीय भाषा समितिमा प्रयोग नगर्न चेतावनी दिँदै त्यसलाई रेकर्डबाट हटाउन सभापतिसँग माग गरे ।

“के राम्रो हुँदैन भनेको ? कुस्ती खेल्ने भनेको हो ?,” दाहालले भने, “यो असंसदीय भाषा भयो, रेकर्डबाट हटाउनुहोस् ?”

उनले त्यस्तो माग गरेपछि भने लामा आफ्नो बचाउमा लागेका थिए । “रेकर्डबाट किन हटाउने ? बोल्छु त !,” उनले भने, “मैले कसैलाई इंगित गरेको छ र ? आफैँ अनेक काम गरेर आउने !”

लामाले आफूले इंगित नगरेको भनेर बचाउ गरे पनि एमाले सांसद योगेश भट्टराईले प्रतिवाद गरे । “के असंसदीय भयो ?,” योगेशले प्रश्न गरे ।

त्यसपछि दाहालले भने, “समितिमा बोलिएको भाषा असंसदीय भयो, हटाउनुपर्छ ।”

योगेशको आड पाएपछि भने लामाले धम्कीको भाषा प्रयोग गरे । “भाइरल हुन बोल्ने ? ल जाऊँ प्रचण्डजीकोमा डेलिगेसन, म आफैँ जान्छु,” दाहाललाई धम्क्याउँदै लामाले भने, “हिजो आफैँ बनाएको, आज प्रश्न उठाउने ? एजेन्डामा बहस छैन, करा’को छ, सभापतिलाई प्रश्न उठाएको छ ।”

त्यसपछि माओवादी सांसद अमनलाल मोदीले समितिमा बोल्दा धम्की दिने नभई संसदीय भाषाको प्रयोग गर्न एमाले सांसदलाई सुझाव दिए । उनले तत्कालीन अवस्था उल्लेख गरे । “समिति बाँडफाँडमा लेखा समिति एमालेलाई नै किन दिइयो ? प्रतिपक्षमा भएकाले दिइयो,” मोदीले भने, “संसद्‌मा कुरा राख्न पाउँछ, बहुमत छ भनेर कुस्ती खेल्न आउने ? लेखा समितिमा असंसदीय बोल्दा हो हो भनेर धम्की दिने ?”

उनले विचार राख्ने स्वतन्त्रता सबै सांसदलाई भएको भन्दै धम्की दिने अधिकार नभएको बताए । धम्कीको भाषा असंसदीय भएको भन्दै उनले त्यसलाई रेकर्डबाट हटाउन माग गरे ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्