site stats
बाह्रखरी :: Baahrakhari
खेल
राष्ट्रिय पुरुष बास्केटबलमा गण्डकी प्रदेश च्याम्पियन

कास्की । पोखरामा सञ्चालन भएको ‘पोखरा कप’ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ ।

पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा बुधबार सम्पन्न फाइनल खेलमा वाग्मती प्रदेशमाथि ८१–७८ अंकको झिनो अन्तरको जित निकाल्दै गण्डकी च्याम्पियन बनेको हो । खेलमा गण्डकीले पहिलो क्वाटरमा २४–१८ अंकले अग्रता बनाए पनि दोस्रो क्वाटरमा वाग्मती २२–१७ अंकले अघि रह्यो । तृत्तीय क्वाटरमा समेत गण्डकी १७–२६ अंकले पछि रह्यो । तर अन्तिम क्वाटर गण्डकीले २३–१२ अंकले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतियोगिताको च्याम्पियन बनेको गण्डकीले एक लाख ११ हजार १११, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्दा उपविजेता वाग्मतीले नगद ६६ हजार ६६६ मा चित्त बुझायो । प्रतियोगितामा लुम्बिनी प्रदेशले तेस्रो स्थान हात पारेको छ । तेस्रो स्थानका लागि भएको खेलमा कर्णाली प्रदेशलाई ९०–२६ अंकले लुम्बिनीले पराजित गरेको हो । लुम्बिनीले नगद ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पायो ।

विजेता खेलाडीलाई गण्डकी प्रदेशसभाका पूर्वसदस्य मोहन रेग्मी, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष एवं गण्डकी प्रदेश बास्केटबल संघका अध्यक्ष धोजकुमार गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमणप्रसाद गुरुङ, प्रदेश खेलकुद परिषद्का सदस्यद्वय शुभकन्या गुरुङ र विष्णुमाया गुरुङ लगायतले पुरस्कार वितरण गरे ।

गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा यही माघ ७ गतेदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाहेक ६ प्रदेशको सहभागिता रहेको थियो । पोखरामा सञ्चालन भएको यो प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछिको पहिलो राष्ट्रिय बास्केटबल प्रतियोगिता समेत हो । यस प्रतियोगितालाई आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटका रुपमा लिइएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  २३:४३
प्रतिक्रिया दिनुहोस्