site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘चुनाव घोषणा भए एकीकृत समाजवादीमा कोही बस्नेवाला छैन’

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफूहरूले वामपन्थीलाई एकताबद्ध गर्ने बताएका छन् । समाजवादका नाममा अनेक दल खोलेर समाजवादी आन्दोलनलाई कमजोर पार्ने कार्य भइरहेको उनले उल्लेख गरे ।

शनिबार काठमाडौंमा राष्ट्रिय युवा संघको भेलामा उनले भने, “समाजवाद हाम्रो लक्ष्य हो र यो महान् लक्ष्य हो भन्ने ठान्ने हो भने भन्न सक्नुपर्दछ– एउटै लक्ष्य बोकेकाहरू अलग–अलग गुटमा रमाउने होइन । एउटै लक्ष्य बोकेकाहरू नानाभाँतीका पार्टीहरूमा विभाजित भएर बस्ने होइन ।”

आफूहरूले ०७४ सालमा नेकपा बनाएर त्यो प्रयास गरे पनि माओवादी धारका कारण सफल हुन नसकेको उनले स्मरण गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले राजनीतिमा लक्ष्य हुनुपर्नेमा जोड दिए । नयाँ पार्टीहरूतर्फ संकेत गर्दै उनले लोकप्रियताले मात्र अगाडि बढ्न खोज्न नहुने बताए । “बिनासिद्धान्त, बिनालक्ष्य राजनीतिक यात्रा हुन सक्तैन भन्ने कुरालाई बुझ्न सक्नुपर्दछ,” उनले भने ।

उनले अगाडि भने, “आज जुन प्रकारले नेपालमा विकल्पका नाममा, पपुलिजमलाई विकल्पका रूपमा प्रस्तुत गर्न खोजिएको छ, यसले नेपाल राष्ट्रलाई कमजोर बनाउने काम मात्रै गर्दछ भन्ने कुराको सच्चाइलाई हामीले बुझ्न सक्नुपर्दछ ।”

महासचिव पोखरेलले एमालेबाट टुक्रिएर गएको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)मा त्रास रहेको टिप्पणी गरे । ती पार्टीका कतिपय नेता एमालेमा आउन चाहिरहेको उनको भनाइ थियो ।

“अहिले त संसद् पद जाला भनेर, पार्टी जोगाउन सकिएला, चुनावको घोषणा भयो भने कोही पार्टीमा बस्नेवाला छैन,” उनले भने, “चाहे त्यो एकीकृत समाजवादीको कुरा गर्नुस्, चाहे माओवादी पार्टीको कुरा गर्नुस् ।”

उनले  अगाडि भने– “आज माओवादी पार्टीबाट, समाजवादी पार्टीबाट अनेक साथीहरू भनिराख्या छन्– हाम्रो सुरक्षा एमालेले गर्न सक्छ कि सक्तैन ?”

विगतमा एमाले विभाजन गर्न अध्यादेश ल्याइएको उनले सुनाए । वर्तमान सरकारले पनि पार्टी विभाजन गर्ने अध्यादेश ल्याउला भन्ने कतिपयले चिन्ता व्यक्त गरेको उनले बताए ।

“आज के भन्ने गरिन्छ त भन्दाखेरि– केपी ओलीले कतै अध्यादेश ल्याएर पार्टीहरूलाई विभाजित गर्ने त होइन ! कोले चिन्ता प्रकट गर्दै छन्, जसले एमालेलाई विभाजित गर्नका लागि अध्यादेश ल्याएका थिए,” उनले भने ।

आफूहरू दल विभाजन गर्ने अध्यादेश ल्याउने दिशामा नरहेको उनले जिकिर गरे । “हामीले भनेका छौँ– हामी लुकेर अध्यादेश ल्याउने छैनौँ,” उनले भने, “हामी हाकाहाकी, खुलेआम रूपमा, दल विभाजन गर्ने लोकतान्त्रिक मान्यतालाई संसद्‌बाट स्थापित गर्न चाहन्छौँ ।”

पार्टीको रक्षा नीति, सिद्धान्तले गर्ने उनले बताए । “भविष्य नभएका पार्टीहरू कानुनले जोगाएर जोगिनेवाला छैनन्,” उनले भने ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्