site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वदेशमै अवसरको सिर्जना गर्न विशेष ध्यान दिएकाे प्रधानमन्त्रीकाे दाबी 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । 

श्रीपञ्चमीका अवसरमा सोमबार काठमाडौंमा आयोजित ‘युवा अन्तरक्रिया कार्यक्रम’मा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्वबजारको प्रतिस्पर्धी बनाउने संकल्प पनि गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

देशको स्वाधीनताको झन्डा झुक्न नदिन र देशलाई समृद्ध नेपाल बनाउन लाग्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधीनमा बस्नु नपरेको स्मरण गराउँदै विद्यार्थीलाई देशभक्तिलाई शीरमा बोकेर इमानदार बनेमा सफलतामा पुग्न सकिने आग्रह गरे । 

उनले विद्यार्थीहरू अरूको बहकावमा लाग्न नहुने र असल नेपाली संस्कारलाई पछ्याउन लाग्नुपर्नेमा जोड दिँदै युवाहरूका लागि स्वदेशमै अवसरको सिर्जना गर्न सरकारले विशेष ध्यान दिइरहेको जनाए । 

नेपाल र चीनबीचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले चीन, भारतलगायत विभिन्न देशसँग मित्रवत् सम्बन्ध राख्दै आएको बताउँदै हालैको औपचारिक चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रेड इनिसियटिभको फ्रेमवर्क’मा सम्झौतालगायत विभिन्न सहकार्य विस्तार भएको बताए । 

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै आफ्नो ठूलो सपना भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीसमक्ष विद्यार्थीहरूले उनका रुचिका विविध पक्षमा पनि प्रश्न गरेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्