site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्री पौडेलको प्रस्टीकरण : स्वास्थ्य बिमा हटाउने होइन, व्यवस्थित गर्ने हो 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा हटाउन लागेको नभएर व्यवस्थित गर्न लागेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद तोसिमा कार्कीले स्वास्थ्य बिमा हटाउन लागेको भन्दै मन्त्री पौडेलको राजीनामा मागेकी थिइन् ।
 
सोमबार यस विषयमा प्रस्टीकरण दिँदै मन्त्री पौडेलको सचिवालयले स्वास्थ्य बिमामा देखिएका विकृति हटाउने गरी काम भइरहेको र दुई चरणमा काम भइसकेको जनाएको हो ।
 
स्वास्थ्य बिमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्ययोजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको मन्त्री पौडेलले बताएका छन् । संसद् भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बिमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजना अनुसारका काम कार्यान्वयनका लागि प्रयास भइरहेको बताए ।

केही दिनअघि औषधि व्यवसायीको कार्यक्रममा यही विषयमा विकृतिका उदाहरणसहित मन्त्री पौडेलले बोलेको अभिव्यक्तिमध्ये ‘यसरी सकिँदैन’ भन्ने क्लिपहरू मात्र अहिले सञ्चारमाध्यममा भाइरल बनेकामा पूरा भिडियो हेरेर मात्र धारणा बनाउन मन्त्री पौडेलको सचिवालयले आग्रह गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री पौडेलले बिमामा विकृति देखिएका कारण विनियोजित बजेटले खर्च नधान्ने अवस्था रहेकामा विकृति हटाउँदै नीतिगत सुधार गर्ने काम भइरहेको बताएको सचिवालयले उल्लेख गरेको छ । 

‘‘गलत अर्थ लगाउने गरी भिडियो काटेर सामाजिक सञ्जालमा भाइरल बनाउन खोजिएको देखिन्छ,’’ सचिवालयले प्रेस नोटमा भनेको छ, ‘‘सोही आधारमा भ्रम सिर्जना गर्न खोजिएको देखियो ।’’ 

मन्त्री पौडेलले ‘अहिलेकै स्थितिबाट यो चल्दैन, त्यसैले अब यो हटाउने भन्ने नभई यसलाई व्यवस्थित गर्न खोजिएको हो यसलाई व्यवस्थित गर्न दुई चरणको काम गरिसक्यौँ’ भनेर मन्त्री पौडेलले भनेको पुनः प्रस्ट पारेको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्