site stats
बाह्रखरी :: Baahrakhari
खेल
केपी ओली कप फाइनलमा सोमबार त्रिभुवन आर्मी र मछिन्द्र भिड्दै

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा सोमबार त्रिभुवन आर्मी क्लब र मछिन्द्र एफसीबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जनाएको छ । 

आर्मीले संकटा क्लब र मछिन्द्रले आयोजक केपी एफसीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । फाइनलका निम्ति टिम तयार रहेको र उपाधि कब्जा गर्ने गरी खेल प्रदर्शन गर्ने दुवै टोलीको प्रशिक्षक र कप्तानले जनाएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

फाइनलअघि आइतबार रंगशालामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा त्रिभुवन आर्मी क्लबका प्रशिक्षक मेघराज केसीले मछिन्द्र क्लब बलियो देखिए पनि आर्मी क्लब पनि कमजोर नरहेको बताए । उनले फाइनल खेल उत्कृष्ट हुने उपाधि जित्ने दाबी गरे ।

त्यस्तै, त्रिभुवन आर्मी क्लबका कप्तान जिलेस्पी जंग कार्कीले लामो समयदेखिको तयारीले टिम फाइनल पुगेको भन्दै फाइनलका लागि उपाधि जित्ने गरी मैदान उत्रने उल्लेख गरे । त्यस्तै, डिफेन्डिङ च्याम्पियन मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले तेस्रोपटक उपाधि रक्षा गर्ने रणनीतिका साथ मैदान उत्रने जनाए । उपाधिका लागि आफ्नो टिम तयार रहेको र ९० मिनेटभित्रै गोल गरेर जित हासिल गर्ने उनले बताए ।

त्यस्तै, मछिन्द्रका कप्तान विशाल श्रेष्ठले फाइनलका लागि उत्साहित भएको भन्दै उपाधि जित्ने गरी मिहिनेत गरेको बताए ।
फाइनल खेल अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आइसकेको राष्ट्रिय युवासंघ नेपालका प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए । 

खेलकुद क्षेत्रमा समस्या नभई सम्भावना छ भन्ने कुरालाई उजागर गर्दै लगातार केपी ओली कप फुटबल आयोजना गरिएको उनले बताए ।

प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्