site stats
बाह्रखरी :: Baahrakhari
कला
एलिना चौहान भन्छिन्– ‘छुट्यो पिरिम’ मेरो कहानी होइन
तस्बिर : फेसबुकबाट ।

काठमाडौं । गायिका एलिना चौहान फेरि एकपटक चर्चामा छिन् । ‘छुट्यो पिरिम’ बोलको गीतका कारण उनको चर्चा भइरहेको छ ।

टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा त्यो एलिनाको जीवनसँग मिल्ने गीत भन्दै टीकाटिप्पणी भइरहेको छ । आफ्नै जीवनको गीत गाइन् भनेर उनको चर्चा गरिँदै छ ।

एलिना स्वयं भने यसमा के भन्छिन् ? यसमा उनको केही फरक धारणा छ । गीतसंगीत साहित्य भएकाले त्यसैअनुसार बुझ्नुपर्ने उनी बताउँछिन् । आफू गाउने मात्र भएकाले गायक र गीतकारबीचको भिन्नता बुझिदिन उनी आग्रह गर्छिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘छुट्यो पिरिम’ बोलको गीत आफूले रचना नगरेको उनी प्रस्ट पार्छिन् । उनी आफूलाई आएको अफरअनुसार गीत मात्र गाएको बताउँछिन् । तीन वर्षअगाडि लेखिएको यो गीत आफूले गाएको एलिनाको भनाइ छ ।

“तीन वर्षअगाडि लेखिएको गीत हो । पहिला नै लेखिएको गीत अहिले गाएको हो,” एलिना बाह्रखरीसँग भन्छिन्, “गायकगायिकाले आफैँले गाएका हरेक गीत उसको जीवनसँग मिल्छन् भन्ने हुँदैन ।”

आफ्नो विवाह हुँदाताका ‘कट्टा हान्दिन्छु’ गीत गाएको उनी स्मरण गराउँछिन् । 

‘छुट्यो पिरिम’लाई आफ्नो जीवन घटनासँग दाँज्नेप्रति उनी विवाहका बेला गाएको गीतलाई केसँग र कसरी तुलना गर्ने भन्दै प्रश्न गर्छिन् ।

आफ्नो विगत र सम्बन्ध बिर्सिसकेकाले त्यसलाई सम्झन नै नचाहेको उनले सुनाइन् । “मलाई अब बितिसकेको कुरा सम्झिएर त्यसमै भुल्नु छैन । कति के भयो, सकियो,” उनी अगाडि थप्छिन्, “गीतमा कति शब्द माया, प्रेम, विवाहसँग सम्बन्धित हुन्छन्, त्यो गाउने व्यक्तिको जीवन हेरेर लेखिँदैन ।” 

आफूले ‘तँ’ भन्ने शब्दचाहिँ प्रयोग नगरौँ भनेको उनले जानकारी दिइन् । सम्मानजनक शब्द प्रयोग गर्न आग्रह गरेको उनी बताउँछिन् ।

डीपी तिवारीले लेखेको गीतमा ‘तेरै कारण बन्धनमा थिएँ म, अब फिरी म...’ वाक्य उल्लेख छ ।

“मैले केही समय चल्दैन मनमर्जी भन्ने शब्द राखेर गीत गाएको थिएँ । रेस्पेक्टेड शब्द राखेर गाएको गीत थियो । तर, त्यो गीत धेरै चलेन,” तेरै भन्ने शब्दका सन्दर्भमा एलिना भन्छिन्, “त्यसैले यो शब्द राखिएको होला । तर, यो मेरो नभएर गीतकारको अधिकारको कुरा हो ।”

गीतकारले आफ्नो हिसाबले गीत लेखेको हुनाले यसमा केही भन्न नसक्ने उनी प्रस्ट पार्छिन् । व्यक्तिको निजी जिन्दगीसँग गीतका शब्दलाई तुलना नगर्न उनको आग्रह छ । 

“कतैकतै समाचारमै पनि एलिनाले आफ्नै जिन्दगीको पछिल्लो घटनासँग मिल्ने गीत गाइन् भनेर लेख्नुभयो । युट्युबमा पनि यस्तै कुरा आयो,” उनी भन्छिन्, “सायद भ्युज र सेयरका लागि पनि होला । यसरी न्युज बनाउँदा वास्तविकताबारे पनि सोच्नुपर्छ होला ।”

गीतसँग जिन्दगीका हरेक घटना तुलना नहुने उनको भनाइ छ । “भोलि म लभ सङ गाउँला, एलिनाको लभ पर्‍यो भन्ने ? विवाहसम्बन्धी गीत गाउँला, त्यो बेला एलिनाले रि–प्याचअप भयो, विवाह गर्न लागिन् भन्ने ?,” एलिना प्रश्न गर्छिन् ।

कुनै पनि विषयलाई आफूले चाहेअनुसार व्याख्या गर्न सकिने उनको बुझाइ छ । ‘छुट्यो पिरिम’ गीतलाई महिला स्वतन्त्र भएर बाँच्नुपर्छ, कसैको बन्धनमा रहनु हुन्न भन्ने अर्थमा पनि लिन सक्नुपर्नेमा एलिना जोड दिन्छिन् ।

पैसाको धाक नलगाउन आग्रह गर्ने गीतमा अरूका कारण बन्धनमा बस्नुपरेको उल्लेख छ । चोट दिनु, प्रेम र व्यक्तिको कदर नहुनु नै ‘बन्धन’ तोडिनुको कारण रहेको गीतमा उल्लेख छ । स्वतन्त्रता नै प्रमुख विषय रहेको उल्लेख गरिएको गीतमा सम्मान नभएकै कारण सम्बन्ध तोडिएको उल्लेख छ ।

यसलाई महिलाको स्वतन्त्रतासँग जोडेर बुझ्न सकिने एलिना बताउँछिन् । “नकारात्मक रूपमा लिने हो भने त्यसैगरी बुझ्न सकिन्छ । कसैको जीवनको घटनासँग तुलना गर्ने हो भने त्यसैगरी बुझ्न सकिन्छ,” एलिना भन्छिन्, “सकारात्मक रूपमा लिने हो महिला स्ट्रङ हुनुपर्छ भन्ने सन्देश गीतमा रहेको बुझ्न सकिन्छ । महिला सशक्तीकरणका रूपमा पनि लिन सकिन्छ ।”

फूलको आँखामा फूलै संसार भनेजस्तै सकारात्मक रूपमा हेरे सकारात्मक अर्थ लगाउन र नकारात्मक रूपमा लिन चाहे त्यसैअनुसार व्याख्या गर्न सकिने उनको तर्क छ । त्यसैले ‘छुट्यो पिरिम’ गीतलाई आफ्नो निजी जिन्दगीका घटनासँग तुलना नगर्न एलिना आग्रह गर्छिन् ।

महिला सशक्तीकरणका अर्थमा बुझ्न र सकारात्मक सोचले गीतलाई हेर्न एलिनाको अनुरोध छ । तीन वर्षअगाडि लेखिएको गीतलाई केही महिनाअघिको घटनासँग तुलना गर्न नहुनेमा उनी जोड दिन्छिन् । 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्