site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वराजालक्षित माधव नेपालले भने– देश लुटेको इतिहास छ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुँजीवादी व्यवस्थालाई बदल्न जरुरी रहेको बताएका छन् । शनिबार (चैत २) ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले पुँजीवादी व्यवस्था बदल्नुपर्नेमा जोड दिए । सामन्तवादी व्यवस्थामा जाने कुरा सह्य नहुने उनले उल्लेख गरे । “अहिले व्यवस्था बदल्नुपर्छ भन्ने कुरा आइरहेको छ । अवश्य पनि पुँजीवादी व्यवस्थालाई बदल्नुपर्छ,” उनले भने, “तर, सामन्तवादी व्यवस्थामा जाने होइन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दलाल पुँजीवादको वर्चस्व रहेको व्यवस्था परिवर्तन गरेर समाजवादी गणतन्त्रमा जानुपर्ने उनले बताए । “दलाल पुँजीवादको वर्चस्व रहेको यो व्यवस्था, जो वंशको आधारमा पहिला १०४ वर्षसम्म र त्यसपछि २४० वर्षसम्म शासन सञ्चालन गरेर बसेकाहरू सत्ताको दुरुपयोग गरेर हालीमुहाली चलाएकाहरू हुन्,” उनले भने, “तिनीहरूबाट मुक्ति चहियो । समाजवादी गणतन्त्रमा जानैपर्छ ।”

त्यसका निम्ति आफ्नो पार्टीले नेपाली विशेषताको समाजवादको नयाँ अवधारणा अघि सारेको उनले उल्लेख गरे ।

अध्यक्ष नेपालले व्यवस्था बदल्न चाहनेहरू प्रतिगमनतिर नभएर अग्रगमनतिर आउनुपर्ने बताए । उनले वंशको कुरा छोड्न सबैलाई आग्रह गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै त्याग, तपस्या, बलिदान नगरेको बरु देशलाई लुट्ने काम गरेको उनले आरोप लगाए । पूर्वराजा शाहप्रति आरोप लगाउँदै उनले लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्न नहुने बताए ।

देशको इज्जत, प्रतिष्ठा र मर्यादालाई माथि उठाउन अब नयाँ समाजवादी व्यवस्था जरुरी रहेको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्