site stats
बाह्रखरी :: Baahrakhari
कला
पलेँटीमा कालीप्रसाद रिजाल र आभास

काठमाडौं । नेपालयको आरसालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक गीतकार कालीप्रसाद रिजाल र आभासबीच सहकार्य हुने भएको छ । कालीप्रसाद रिजालका नयाँ गीतमा आभास आफ्नो धून र स्वरसहित मार्च २८ र २९ मा पलेँटीमा प्रस्तुत हुने भएका छन् ।

लामो समयपछि आफू गीतकारका रूपमा विशेष श्रोताहरुबीच आउन लागेको रिजालले बताए । “नयाँ गीत लेखिरहेकै थिएँ तर चित्तबुझ्दो संगीतकार आभासजीलाई पाएपछि म सहकार्य गर्न उत्सुक भएको हुँ,” गीतकार रिजाल भन्छन्, “पहिले पनि मेरो आत्मसंस्मरण काँडामा हाँसेको जिन्दगी लोकार्पणका बेला नेपालयसँग म जोडिएको थिएँ । तर यसपटकको सहकार्य म आफैँलाई विशेष लागिरहेको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रिजालका केही मीठो बात गर, आँखा छोपी नरोऊ भनी, झरेको पातझैँ, झर्‍यो जिन्दगी, यसै गरी बिताइदिन्छु, माया गर्नेको चोखो मायाजस्ता गीत नारायणगोपालको स्वर र संगीतमा सजिए । यी सदाबहार गीत पनि यसपालिको पलेँटीमा प्रस्तुत हुनेछन् । यसैगरी अम्बर गुरुङले संगीत गरेका दुई गीत कहीँ आफ्नै भुमरीमा र अर्को एक रमाइलो गीत पनि पलेँटीमा प्रस्तुत हुनेछ ।

२० वर्षदेखि पलेँटी संयोजन गर्दै आएका आभास यसपालि संगीतकार र गायकका रूपमा पलेँटीमा प्रस्तुत हुँदैछन् । रिजालका आठ नयाँ गीतमा उनले धुन भरेका छन् । 

पलेँटीकै क्रममा रिजालका नयाँ र पुराना गीत र कविताको संग्रह ‘केही मीठो बात गर’ पुस्तक पनि लोकार्पण हुनेछ । पुस्तकमा रिजालमा नयाँ र पुराना २० कविता संगृहीत छन् । यसैगरी उनका नयाँ र पुराना ६८ गीत पुस्तकमा समेटिएका छन् । 

रिजालका पुराना लोकप्रिय गीतहरू अभिज्ञा घिमिरे र बेनुप क्षेत्रीले गाउनेछन् । सम्पूर्ण पलेँटीमा सुनील सिंह, सुन्दरकुमार महर्जन, मिलन घिमिरे, कृपेश लोहनी, लक्ष्मीप्रसाद डंगोलले वाद्यवादनमा साथ दिनेछन् ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्