site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गलत कुराको तत्काल प्रतिवाद गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्‌मा बोलिएका गलत कुराको तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् । शनिबार (वैशाख १३) नयाँ बानेश्वरमा बसेको एमालेको संसदीय दलको बैठकमा सांसदलाई प्रशिक्षित गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

उनले संसद्‌मा राष्ट्रियताका पक्षमा स्पष्ट दृष्टिकोण, अडान राख्नुपर्ने बताए । राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप, प्रवृत्ति र त्यस्ता विषयको आलोचना गर्न उनले आग्रह गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नुपर्दछ,” उनले भने, “राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरू, त्यस्ता कुरालाई आलोचना गर्नुपर्दछ । त्यस्ता कुरालाई हामीले तिखै आलोचना गर्नुपर्दछ ।”

देशभन्दा ठूलो अरू नहुने भन्दै उनले मुलुकप्रति निष्ठा नहुने तत्त्वको मुकुन्डो उतार्नुपर्नेमा जोड दिए । देशभक्तिको भावना उजागर गर्न, जनतालाई जागरुक बनाउने विषयमा अघि बढ्न उनले आग्रह गरे ।

“देशप्रति जसको निष्ठा छैन, त्यस्ता तत्त्वहरूलाई हामीले तिनको असली चेहरा, तिनको मुकुन्डो उतार्नुपर्छ,” उनले भने, “हामीले देशभक्तिको भावनालाई, देशभक्तिका पक्षहरूलाई उजागर गर्नुपर्दछ । जनतालाई जागरुक गर्नुपर्दछ ।”

उनले संसद्‌मा गलत कुराको तत्काल, छिटो र छरितो ढंगले प्रतिवाद गर्न निर्देशन दिए । “हाम्रो भूमिका छिटो, छरितो, तत्काल हुनुपर्दछ । तत्काल बेठिक कुराहरूको विरुद्ध बोल्ने, त्यो तरिका अवलम्बन गर्नुपर्छ,” उनले भने, “बासी कुराहरूको सन्दर्भमा बोलेर त्यति अर्थ हुँदैन ।”

प्रधानमन्त्री ओलीले आज बोलिएका गलत कुराको प्रतिवाद यसै दिन गर्नुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्