site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार ढल्छ भन्नेहरू फत्रक्क गले : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन् । शनिबार (वैशाख १३) नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा उनले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र ‘मिसन’मा केन्द्रित हुन सांसदहरूलाई आग्रह गरे ।

“सरकार बांगिसक्यो, शेरबहादुरजी थाइल्यान्डबाट नेपाल आइपुग्नेबित्तिकै ढल्छ भनेर भनेका थिए,” उनले भने, “मैले त भ्रम फिँजाउनेहरूका पछाडि नलाग्नुस्, आफ्नो मिसन र काममा लाग्नुस्, चुनावमा लाग्नुस् भनेकै थिएँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले अगाडि भने, “शेरबहादुरजीले फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फैलाउनेहरू फत्र्याक्क गलेका छन्, सरकार ढल्दैन भनेपछि सकियो । त्यसकारण एउटै कुराको जवाफ धेरैपटक खोज्नतिर हामी लाग्नु हुँदैन ।”

उनले आउँदो आर्थिक वर्षका निम्ति सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको बताए । “हामी सबैको ध्यान त्यसमा केन्द्रित भएको छ,” उनले भने, “हल्लाको पछाडि कोही पनि लाग्नु पर्दैन ।”

संसद्को चालु अधिवेशन, विद्यमान परिस्थितिलाई बुझेर जनताका समस्याको उठान र समाधानको उपायका निम्ति भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

प्रतिगमनकारीले आन्दोलनका नाममा हिंसात्मक तथा संविधानविरोधी गतिविधि गरेको उनले उल्लेख गरे । आवश्यक पर्दा त्यस्ता गतिविधिमाथि सरकारले कानुनबमोजिम कडा कदम पनि चाल्न सक्ने उनले संकेत गरे ।

मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरूको आसमा नभई आफैँले गर्नतिर लाग्नुपर्ने बताए ।

पार्टीमा आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्