site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डको दाबी– मेरो नेतृत्वको सरकार भएको भए देश ‘ग्रे लिस्ट’मा पर्ने थिएन

काठमाडौं । नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार भएको भए देश फाइनान्सिएल एक्सन टास्क फोर्स (एफएटीएफ)को ‘ग्रे लिस्ट’मा नपर्ने दाबी गरेका छन् । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमको छलफलका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिलेको सरकार आएपछि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र राजस्व छलीविरुद्धका कारबाही रोकिएकैले देश ‘ग्रे लिस्ट’मा परेको बताए । 

“म ध्यानाकर्षण गराउन चाहन्छु भने– मेरो सरकारले एफएटीएफले देखाएका विषयमध्ये कानुन, संगठनात्मक संचरना र प्रणालीजस्ता टेक्निकल कम्प्लाइन्स पूरा गरेर भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणविरुद्ध कार्यविधि नै बनाएर निर्मम ढंगले एक्सनमा उत्रिएको थियो,” प्रचण्डले भने, “तस्करी, भ्रष्टाचार र राजस्व छलीविरुद्धको कारबाही र सम्पत्ति जफतको कारबाहीले निरन्तरता पाएको भए देश सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा नपर्ने सम्भावना विद्यमान थियो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भ्रष्टाचारीलाई बचाउनकै लागि आफ्नो सरकार ढालिएको र सम्पत्ति शुद्धीकरणविरुद्धका कारबाही रोकिएपछि देश ‘ग्रे लिस्ट’मा पुगेको आरोप लगाए । 

“तर, भ्रष्टहरूलाई बचाउनकै लागि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणको कारबाही रोकियो । फलस्वरूप टेक्निकल कम्प्लाएन्स पूरा गरेर पनि सम्पत्ति शुद्धीकरण गर्नेमाथि कारबाही गर्न र सम्पत्ति जफत गर्न चुकेको भनेर ‘ग्रे लिस्ट’मा समावेश हुनुपर्ने विडम्बना देखापर्‍यो,” उनले भने, “अवैध कारोबार, राजस्व छली, भ्रष्टाचार, सरकारी सम्पत्तिको दोहन र अनियमितमा संलग्नलाई कारबाही गर्न सकेमात्र ‘ग्रे लिस्ट’बाट बाहिर निक्लन सक्छ ।”

उनले ‘ग्रे लिस्ट’बाट बाहिरिने विषय पनि वर्तमान सरकारको प्राथमिकतामा नपरेको बताए । सरकारले देशलाई 'ब्ल्याक लिस्ट'मा पार्ने जोखिम बढेको उनको भनाइ छ ।

“म सरकारलाई खबरदारी गर्न चाहन्छु, सरकारले यो काम र विषयलाई नीतिगत प्राथमिकता देओस्, नत्र देश ‘ग्रे लिस्ट’बाट बाहिर निस्किनुको सट्टा कालोसूचीमा पर्ने खतरा बढेर जानेछ,” उनले भने, “मेरो नेतृत्वको सरकारले सुशासनका कैयौँ कीर्तिमान कायम गरेको स्मरणनीय छ । राजनीतिक आग्रह–पूर्वाग्रह नहेरेर सुशासनका पक्षमा उभिएकै कारण षड्यन्त्र गरेर सरकार फेरिएको घाम झै छर्ल‍ंग छ ।”

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्