site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शेखरलाई कारबाही गराउन देउवा उक्साउँदै शशांक !

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाको सबैभन्दा ठूलो र सत्ता साझेदार पार्टी हो । उक्त पार्टीबाट सरकारमा गएका केही मन्त्रीको काम गराइ र व्यवहारले राजनीतिक तरंग सिर्जना गरेको छ ।

नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निकाल्न मुख्य भूमिका निर्वाह गरेका ऊर्जा मन्त्री दीपक खड्का विवादको नसेलाउँदै अर्का मन्त्री रमेश लेखकको अध्यागमन प्रकरणले मुलुकको राजनीति तातेको छ ।

गृहमन्त्री लेखकले ‘भिजिट भिसा’का नाममा मानव तस्करी गरेको आरोप खेपिरहेका बेला प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र र विपक्षी रास्वपाले तत्काल उनको राजीनामा हुनुपर्ने अडान राख्दैछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गृहमन्त्री लेखकलाई राजीनामा नदिएसम्म संसद्मा बोल्नसमेत नदिने तयारीमा विपक्षी दल छन् ।

विपक्षीमात्रै नभएर कांग्रेसका नेता डा. शेखर कोइराला, सांसदद्वय राजेन्द्र बजगाई र सुनील शर्माले गृहमन्त्रीले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे ।

त्यसबारे छलफल गर्न सोमबार सभापति शेरबहादुर देउवाले निवासमा पदाधिकारी बैठक बोलाएका थिए । बैठकमा गृहमन्त्री लेखकले पछिल्लो घटनाक्रमबारे जानकारी गराउँदै केही नेताहरूले ‘तुच्छ राजनीति’ गरेको टिप्पणी गरेका थिए ।

उनले विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले गरेको बदमासीबारे स्पष्ट पार्दै त्यसबारे तथ्य नै बुझ्दै नबुझी पार्टीकै नेताहरूले राजीनामा मागेपछि आफूलाई नराम्रो लागेको बताएका थिए ।

“मैले डा. शेखर कोइरालालाई दुई पटकसम्म फोन गरी कुरा गरेँ,” लेखकको भनाइ उद्धृत गर्दै एक नेताले भने, “पार्टीका नेताहरूबाटै यस किसिमको धारणा आएपछि मलाई नराम्रो लागेको छ ।”

लेखकले यस्तो धारणा राखेपछि सभापति देउवा र उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्काले आफूहरू गृहमन्त्री भएका बेला आएका समस्याबारे पनि बताएका थिए ।

त्यसपछि त्यहाँ केही नेताहरूले लेखकको राजीनामा माग गर्ने कोइराला, सांसदद्वय बजगाई र शर्मालाई बोलाएर स्पष्टीकरण माग्न सभापति देउवाको ध्यानाकर्षण गराएका थिए ।

तर देउवाले कुनै प्रतिक्रिया नदिएको एक नेताले बताए । त्यसमध्ये सबैभन्दा बढी आक्रोश डा. शशांक कोइरालाको थियो । डा. कोइरालाले तीनै जना नेतालाई बोलाएर स्पष्टीकरण सोध्ने र कारबाही गर्नुपर्ने धारणा राखेका थिए ।
डा. कोइराल बाहिर निस्किएर सञ्चारकर्मीसँग कुरा गर्दै तीनै जना नेतालाई कारबाही गर्नुपर्ने बताएका थिए ।

“रमेश लेखकले एक इन्च पनि तलमाथि गर्नुभएको छैन,” शशांक कोइरालाको भनाइ थियो, “त्यसैले हामीले सभापतिलाई के भन्यौँ भने तपाईंले उनीहरूलाई बोलाएर सोध्नुस् । के भएको हो । यसको समाधान निकाल्नुपर्‍यो नि ! उहाँलाई बोलाएर सोध्नुपर्छ । स्पष्टीकरण नै सौध्नुपर्छ । शेखर, सुनील र राजेन्द्र बजगाईसँग भनेर सोध्नुपर्छ भनेर हामीले भनेका छौँ ।”

उनले स्पष्टीकरण सोध्नुबाहेक अर्को कुनै उपाय नै नभएको प्रतिक्रिया दिए ।

डा. शेखर कोइराला भने पार्टी कामको सिलसिलामै यतिबेला पाँचथरमा छन् । उनले पाँचथरमा रहेका कारण पार्टी पदाधिकारीको निर्णय र विषय बुझेरमात्रै टिप्पणी गर्ने बताएका छन् ।

तर सांसद राजेन्द्र बजगाईले यसलाई ‘पार्टी फुटाउने षडयन्त्र’ भनेका छन् । “हामीले स्पष्टीकरण के का लागि कसलाई बुझाउनुपर्ने हो ?, ” उनको प्रश्न थियो, “हामीलाई बोलेकै आधारमा स्पष्टीकरण सोधियो भने त्यसको कानुनी हैसियत के हुन्छ हामी पनि सल्लाह गर्छौँ ।”

उनले तर शशांकबाट पार्टी विभाजन गर्ने षडयन्त्रस्वरुप यो टिप्पणी आएको धारणा राखे ।

“पार्टी फुटको दिशातर्फ लैजान खोजिएको हो ?,” उनको प्रश्न थियो, “स्पष्टीकरणको विषय उठाएको पार्टी फुटाउने नियत हो शशांक कोइरालाको । कसरी दिने ? स्पष्टीकरण कसलाई दिने ? शशांक कोइरालालाई पनि धेरै कुरामा स्पष्टीकरण सोध्नुपर्नेछ ।”

शेखर कोइराला र शशांक कोइराला दाजु–भाइ भए पनि पार्टीको आन्तरिक राजनीतिमा भने एक ठाउँमा छैनन् । पार्टीको १४औँ महाधिवेशनमा पनि दुई नेता फरक फरक प्यानलबाट प्रतिष्पर्धा गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्