site stats
बाह्रखरी :: Baahrakhari
खेल
चार्ली र म्याकार्थीको अर्धशतकमा स्कटल्यान्डले नेपाललाई दियो २९७ रनको लक्ष्य

काठमाडौं । चार्ली टिएर र फिनली म्याकार्थीको अर्धशतकप्रेरित स्कटल्यान्डले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसामु २९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

सोमबार स्कटल्यान्डको डुन्डीमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको घरेलु टिमले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २९६ रनको योगफल खडा गरेको हो । 

स्कटल्यान्डका ओपनर चार्ली टिएरले सर्वाधिक ८० रन बनाए । उनले ७२ बलमा १२ चौका र एक छक्का प्रहार गरे । चार्लीले ७७–२ को स्थितिबाट तेस्रो विकेटका निम्ति कप्तान रिची बेरिङ्टनसँग ७९ रनको साझेदारी गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कप्तान बेरिङ्टनले ४० रन थपे । यस्तै, फिनली म्याकार्थीले ६७ बलमा तीन चौका र एक छक्कासहित ५५ रन बनाए । 

म्याथ्यु क्रसले ३९ र ब्रान्डन म्याकमुलमले १९ रन जोडे । माइकल लियस्क र जर्ज मुन्सीको नाममा क्रमशः १८ र १२ रन रह्यो । वार्क वाटले १० रन थपे ।

नेपालका करण केसी, रिजन ढकाल र सोमपाल कामीले दुई–दुई विकेट लिए । १० ओभर बलिङ गर्दा करणले एक मेडनसहित ४३ रन खर्चिए । यस्तै, सन्दीप लामिछानेले एक विकेट लिए ।

लिग–२ को जारी संस्करणमा खराब लयबाट गुज्रिरहेको नेपाल तालिकाको पुछारमा छ । नेपाली टिमले प्रतियोगितामा १२ खेल खेल्दा ६ अंक मात्र जोडेको छ । तालिकाको पुछारमा रहेको नेपालले हालसम्म दुई खेलमा मात्र जित निकालेको छ ।

नेपाली टिमले नवनियुक्त प्रशिक्षक स्टुअर्ट लको आगमनपछि नेपालको यो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल हो ।

तालिकाको चौथो स्थानमा रहेको स्कटल्यान्डले भने १६ खेलबाट २० अंक जोडेको छ । स्कटल्यान्डमा आजैदेखि सुरु भएको त्रिदेशीय शृंखलामा घरेलु टोली, नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १९:३३
प्रतिक्रिया दिनुहोस्