
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)को अल ऐनविरुद्ध फराकिलो जित निकाल्दै इंग्ल्यान्डको म्यानचेस्टर सिटी फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार सिटीले अमेरिकाको मर्सेडिज बेन्ज रंगशालामा पहिलो र दोस्रो हाफमा समान तीन गोल गर्दै ६–० को जित दर्ता गरेको हो ।
जितसँगै ६ अंक जोडेको सिटी समूह ‘जी’बाट एक खेलअगावै अन्तिम १६ मा पुगेको छ । अब युभेन्ट्ससँगको खेलबाट सिटी समूह विजेता वा उपविजेता बन्ने टुंगो लाग्नेछ । यी दुई टोली आउँदो बिहीबार फलोरिडास्थित क्याम्पिङ विश्व रंगशालामा आमनेसामने हुँदै छन् ।
यी दुवै टोलीको समान ६ अंक छ । समूहका अरू दुई टोली अल ऐन र वाइडाड एसीले दुई खेल खेल्दासम्म अंक जोड्न सकेका छैनन् ।
जर्जियास्थित मर्सेडिज बेन्ज रंगशालमा सिटीका इल्के गुन्डुगानले आठौँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । २७औँ मिनेटमा क्लाउडिओ इचेभेरीले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्ज्युरी समयमा अर्लिङ हालान्डले पेनाल्टी अवसरलाई गोलमा परिणत गरे ।
गुन्डुगानले ७३औँ मिनेटमा दोस्रो गोल गर्दै अग्रतालाई ४–० मा पुर्याए । ८४औँ मिनेटमा ओस्कार बब र ८९औँ मिनेटमा रायान चेर्कीले समान एक गोल थपे ।