
काठमाडौं । देशका धेरै स्थानमा जस्तै आइतबार (असार १५) काठमाडौंमा पनि वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन दिनभर साधारणदेखि पूर्णतया बदली (बादल/वर्षा)को सम्भावना छ । गए राति (असार १४) काठमाडौंमा पनि वर्षा भएको थियो । आइतबार बिहान पनि केही स्थानमा सिमसिम पानी परिरहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
यस दिन घामको सम्भावना कम नै रहेको उनले बताए । “काठमाडौंमा एयरपोटतिर पनि मसिनो पानी परिरहेको छ,” उनले बाह्रखरीसित भने, “हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । घाम लाग्न गाह्रै छ ।”
काठमाडौं उपत्यकामा भारी वर्षाको सम्भावना भने नदेखिएको उनले स्पष्ट पारे । तर, पानी पर्ने, रोकिनेक्रम दिनभरिजसो हुने उनले बताए । “उपत्यकामा भारी वर्षाको सम्भावना खासै छैन । रोकिने, पर्ने खालको वर्षाको सम्भावना देखिन्छ,” उनले भने ।
उनका अनुसार, यस दिन दिउँसो २/३ बजेपछि पानी पार्ने प्रणाली थप मजबुत हुने सम्भावना छ । त्योसँगै वर्षाको सम्भावना पनि बढी हुन्छ ।
हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । मौसमविद् अर्याल यसलाई अझ स्पष्ट पार्दै भन्छन्, “मुख्यतः मनसुनको समयमा मनसुनी वायु नै हो । केही स्थानमा स्थानीय सिस्टमको पनि भूमिका हुन्छ । त्यसले मेगगर्जन/चट्याङसहित वर्षा गराउने हुन्छ ।”
मनसुनी वायु बंगालको खाडीबाट भारत हुँदै नेपाल भित्रने हो । नेपाल भित्रने उक्त जलवाष्पयुक्त हावा सुदूरपश्चिम प्रदेशसम्म पुग्दा कमजोर हुने स्थिति हुन्छ । त्यसैले पश्चिम नेपालमा भारी वर्षा हुनुमा यति बेला अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि भूमिका रहेको उनले बताए ।
“बंगालको खाडीबाट नेपालको पूर्व हुँदै भित्रने र जलवाष्पयुक्त हावा छोड्दै जाने हुन्छ । देशभर पुग्दा त्यसको क्षमता कम हुन्छ,” उनले भने, “पश्चिममा भारी वर्षा हुनुमा अरबसागरबाट भित्रिएको हावाको पनि प्रभाव छ । लोकल सिस्टमको पनि प्रभाव रहन्छ ।”
महाशाखाले सोमबार (असार १६) बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा धेरै भारी वर्षाको सम्भावना औँल्याएको छ ।
- देशभर बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना
- कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
- मौसमविद्को सुझाव– आइतबार बेलुका र सोमबार सकभर यात्रा नगर्नुहोला
- यी १२ जिल्लामा ‘धेरै भारी’ वर्षाको चेतावनी
- म्याग्दी खोला सतर्कता तह पार, सिन्धुपाल्चोक र कैलालीमा ‘मध्यम’ वर्षा