site stats
बाह्रखरी :: Baahrakhari
देश
बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुम्कीबास क्षेत्रस्थित वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । 

विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा मालवाहक सवारीसाधनका निम्ति राखिएको डाइभर्सन र साना तथा यात्रीवाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि यति बेला यातायात पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का एसपी यादव ढकालले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अहिले यस सडकखण्डको डाइभर्सन र वैकल्पिक मार्ग होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा सवारी आवागमन रोकेर सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ,” उनले भने ।

उनका अनुसार, वर्षाका कारण विनयी त्रिवेणी–३ स्थित खरंगे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध बनेको हो । “अहिले यस सडक क्षेत्रको दाउन्ने–दुम्कीबासखण्डमा कुनै पनि सवारीसाधान आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको छ,” एसपी ढकालले भने ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन निरन्तरको वर्षासँगै पानीको बहाव बढेपछि पटकपटक बगाउँदै आएको छ । रासस

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्