
पर्वत । पर्वतको फलेवास नगरपालिका–८, नेपानेमा गए राति (असार १३) जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप पल्टँदा हो ।
दुर्घटनामा फलेवास–८, ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए । जीप सडकबाट झन्डै १५० मिटर तल खसेको उनले बताए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।
दुर्घटनामा फलेवास–७ का ३४ वर्षीय विक्रम सुनार, वडा नम्बर–८ का ३३ वर्षीय सुरज सुनार घाइते भएका छन् । घाइते दुवैजनाको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । रासस