
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मर्म नै संवाद, सहकार्य र सहमति भएको बताएका छन् ।
संसद् जनताको प्रतिनिधिमूलक संस्था भएकाले यसका कार्यहरू राष्ट्र र जनहितमा केन्द्रित र दीर्घकालीन प्रभाव पार्ने हुनुपर्ने उनको भनाइ छ ।
विविध राजनीतिक दलहरूबीच विचार, दृष्टिकोण र प्राथमिकताहरू फरक–फरक भए पनि साझा राष्ट्रिय सरोकारका विषयमा दलीय सहमति आवश्यक रहेको उनको धारणा छ ।
संसद् वादविवादको होइन, संवादको थलो बन्नु पर्नेमा उनको जोड छ ।
संसद दिवस, २०८२ को शुभकामना दिँदै सभामुख घिमिरेले संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने प्रमुख संस्था भएको बताएका छन् ।
“संसद् दिवसको अवसरमा सम्पूर्ण दलहरूलाई सम्वाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गर्दछु,” उनले भनेका छन् ।
संसद्लाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।