
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले असार १० गते जारी गरेको एउटा परिपत्रको चर्चा भइरहेको छ । स्वास्थ्य बिमा बोर्डका जिल्ला सम्पर्क कार्यालयलाई सम्बोधन गरिएको परिपत्रको 'विषय'मा भनिएको छ– प्रथम सेवाविन्दु हटाउने सम्बन्धमा ।
परिपत्रको निष्कर्ष छ– स्वास्थ्य बिमासम्बन्धी नियमावलीमा प्रथम सेवाविन्दु सरकारी स्वास्थ्य संस्थामात्र रहने व्यवस्था छ । आगामी साउन १ गतेदेखि प्रथम सेवाविन्दुका रूपमा सरकारी स्वास्थ्य संस्थालाई मात्र राख्नू । सरकारीबाहेक अन्य सेवाप्रदायकलाई प्रथम सेवाविन्दुका रूपमा नराख्नू । सरकारीबाहेकका सेवाप्रदायकलाई प्रेषण केन्द्रका रूपमा मात्र राख्न सकिन्छ ।
यस परिपत्रलाई लिएर कतिपयमा द्विविधा देखियो । र, कतिले गलतरूपमा अर्थ्याए– अब स्वास्थ्य बिमाबाट उपचार गर्दा रिफर (प्रेषण) नै लिन पर्दैन ।
बाह्रखरीले स्वास्थ्य बिमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्रीलाई फोनसम्पर्क गरेर अहिले देखिएको द्विविधाबारे जिज्ञासा राखेको छ :
स्वास्थ्य बिमा बोर्डले ०८२ असार १० गते जारी गरेको परिपत्र के हो ?
यसअघि, सरकारीबाहेक देशभरका १०–१२ वटा गैरसरकारी अस्पताललाई पनि बिमामा प्रथम सेवाविन्दुका रूपमा राख्ने गरिन्थ्यो । तर, आगामी साउन १ गतेदेखि त्यस्ता अस्पताललाई प्रथम सेवाविन्दुका रूपमा राख्न मिल्दैन । सरकारी अस्पताललाई मात्र प्रथम सेवाविन्दुका रूपमा राख्न मिल्छ ।
कतिपयले अब स्वास्थ्य बिमाबाट उपचार गर्दा रिफर नै नचाहिने भनिरहेका छन्, खास के हो ?
रिफरको व्यवस्था हटेको छैन । तर, यसलाई सहज बनाएका छौँ ।
सहज भनेको कस्तो?
यसअघि, बिमा गर्दा जसलाई प्रथम सेवाविन्दुका रूपमा राखिएको थियो, रिफरका लागि त्यहीँ जानुपर्ने व्यवस्था थियो । जसले गर्दा धेरैलाई झन्झटिलो लागेको थियो । अब आगामी साउन १ गतेदेखि नजिकैको कुनै पनि सरकारी स्वास्थ्य संस्था (अस्पताल)लाई प्रथम सेवाविन्दु मानेर सेवा लिन सकिनेछ ।
त्यस अस्पतालमा उपचार हुन सकेन वा आवश्यक सेवा नरहेको अवस्थामा त्यहाँबाट रिफर लगेर स्वास्थ्य बिमामा आबद्ध निजी अस्पतालमा पनि जान सकिन्छ ।
उदाहरणका लागि तपाईं काठमाडौंमा हुनुहुन्छ । तर, अछामबाट स्वास्थ्य बिमा गरेर प्रथम सेवाविन्दु उतैको कुनै स्वास्थ्य संस्थालाई राख्नुभएको छ भने रिफरका लागि तपाईं अछाम जानुपर्दैन । काठमाडौंमा आफूलाई पायक पर्ने कुनै पनि सरकारी अस्पताल पुगेर उपचार गर्न सक्नुहुन्छ ।