site stats
बाह्रखरी :: Baahrakhari
खेल
‘मेरो चाहना बार्सिलोना थियो, कुरा पैसाको हुन्थ्यो भने म साउदी अरेबिया जान्थेँ’

काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) छोडेपछि अर्जेन्टिनी कप्तान लियोनल मेसी अमेरिकन क्लब इन्टर मियामीमा अनुबन्धित हुने निश्चित बनिसकेको छ ।

लिग वानमा दुई सिजन बिताएका ३५ वर्षीय मेसीलाई साउदी अरेबियन क्लब अल–हिलालले आर्कषक प्रस्ताव गरेको थियो । तर, बार्सिलोना फर्किने चाहना राखेका मेसीको यो सम्भावना पनि वित्तीय निष्पक्ष खेल (एफएफपी) सीमाका कारण असम्भव बनेपछि उनले मियामी जाने निर्णय गरेका हुन् ।

“मैले इन्टर मियामी जाने निर्णय लिइसकेको छु,” मेसीले बार्सिलोनामै मुख्य कार्यालय रहेको स्पेनिस अखबार मुन्डो डिर्पोटिभोलाई भनेका छन्, “मैले युरोप छोड्ने निर्णय गरेँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनी थप्छन्, “मलाई अर्को युरोपियन टिमबाट प्रस्ताव आएको सत्य हो । तर मैले युरोपियन क्लब भए पनि त्यसबारे सोचिनँ । मेरो चाहना बार्सिलोना जानेमात्र थियो ।”

“विश्वकप जितेपछि बार्सिलोना जान सम्भव नहुँदा अब मेजर लिग सकर (एमएलएस) जाने र फुटबलमा फरक रुपमा बाच्ने र मेरो दैनिक जीवनमा अझ रमाउने समय हो । उही जिम्मेवारी र जितको चाहनासहित । राम्रो कार्यहरु गर्न तर अझ शान्त रुपमा ।”

बार्सिलोनामा पूर्वफरवार्ड यस सिजन समरमा क्याटालन क्लब फर्किन उत्सुक थिए । तर, एफएफपी सीमाका कारण आगामी सिजन बार्सिलोना फर्काउन बनाइएको महत्वकांक्षी योजना असम्भव बन्यो ।

बार्सिलोना सन् २०२१ मा मेसीलाई क्लबमै राख्न असमर्थ भएको थियो । त्यसबेला मेसी  क्लब छोड्दाको कार्यक्रममा भावविह्वल बनेका थिए । बार्सिलोना छोडेपछि मेसी पीएसजी अनुबन्धित भएका थिए ।

“त्यो घटना दोहोरिन्छ भन्ने कुराबाट म डराएको थिएँ । म साच्चै बार्सिलोना फर्किन चाहन्थेँ । म बार्सिलोना फर्किने सम्भावित कुराले निकै उत्साहित थिएँ । मसँग पुरानो अनुभव भएकाले पनि म फेरि उही अवस्थामा फर्किन चाहन्नँ थिएँ,” मेसीले भने ।

“उनीहरुले खेलाडी बेच्नुपर्ने वा पारिश्रमिक घटाउनु पर्ने सुनेँ । तर, म यो सबैबाट जान चाहन्नँ थिएँ । न त म यो सब गरेरमात्र पाएको जिम्मेवारी नै लिन चाहन्थेँ ।”

बार्सिलोनाले पछि मेसीले क्याटालन क्लबको प्रस्तावभन्दा इन्टर मियामी अनुबन्धित हुने निर्णय गरेको भन्दै विज्ञप्ति समेत जारी गरेको थियो ।

“अध्यक्ष योअन लापोर्टाले हालका वर्षहरूमा मेसीले भोग्नुपरेको दबाबबाट टाढा जाने र कम मागसहित लिगमा प्रतिस्पर्धा गर्न चाहने उनको निर्णयलाई बुझेका छन् र यो निर्णयको सम्मान गरेका छन्,” बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

युरोपबाहिर मेसीको पहिलो अनुभव

मियामीसँगको सम्झौतामा एडिडास र एप्पलजस्ता ब्रान्डसँगको सहकार्य पनि समावेश छ । मेसीले विश्वकै उत्कृष्ट खेलाडीलाई प्रत्येक वर्ष प्रदान गरिने बालन डी’अर सातपटक जितेका छन् । र, विश्वकपको उपाधिका कारण यो वर्ष पनि बालन डी’अर जित्ने अनुमान गरिएको छ ।

बार्सिलोनाको ‘आइकन’ बनेका मेसीले पहिलोपटक युरोप बाहिरको लिग खेल्न लागेका हुन् । बार्सिलोना फर्किने सम्भावना असम्भव बनेपछि मेसीले इन्टर मियामी र अल हिलालबीच निकै अप्रत्यासित निर्णय गरे ।

यसअघि, उनी साउदी अरेबिया जाने चर्को चर्चा थियो । जहाँ उनले क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमासँगै साउदी लिग खेल्ने सम्भावना थियो । मेसीलाई साउदी क्लबबाट आएको प्रस्तावको कुनै प्रतिस्पर्धा नै थिएन ।

तर, मेसीले विभिन्न कारणहरुले एमएलएस क्लब मियामी अनुबन्धित हुने निर्णय गरे । यसले  फरक जीवनशैली र ठूला ब्रान्डहरुसँगको सम्झौता जसले फुटबलबाहिरका कुराहरुलाई पनि अघि बढाउन सहयोग गर्नेछन् ।

उनले मियामीमा एक घर किनिसकेका छन् । जुन उनले हाल भाडामा दिएका छन् ।

पीएसजीले दुवै सिजन लिग वानको उपाधि जित्यो । तर, च्याम्पियन्स लिगमा भने अन्तिम–१६ पार गर्न सकेन । जसको अर्थ फ्रान्समा उनको करियर त्यति सफल भएन, जति आश गरिएको थियो ।

उनले पीएसजीका लागि ७५ खेलमा ३२ गोल गरे । मेसीले अन्तिम सिजन पीएसजीबाट लिग वानमा समान १६ गोल र असिस्ट गरेका थिए ।

मेसीको दुई वर्षे सम्झौता यही समरमा समाप्त भएको थियो र दुवै टिम सम्झौता अघि नबढाउन सहमत भए ।

विश्व फुटबलमा बार्सिलोनाबाट सुरु भएको उनको ‘विरासत’ कतारमा सम्पन्न विश्वकपको उपाधिले झनै थपिदिएको थियो ।

बार्सिलोनाको कीर्तिमानी गोलकर्ता समेत रहेका मेसीले क्लबका लागि ६७२ गोल गरेका छन् । १८ वर्ष बार्सिलोनामा बिताएका मेसीले चार च्याम्पियन्स लिग, १० स्पेनिस ला लिगा र सात स्पेनिस कपको उपाधि जितेका छन् ।

‘पैसाको कुरा भएको म साउदी जान्थेँ’

मेसीले बार्सिलोनाको प्रशिक्षक समेत रहेका नजिकका साथी जाभीसँग आफ्नो क्याटालन क्लब फर्किने सम्भावनाबारे कुरा गरेको बताए । तर, उनले यसैबारे भने क्लबका अध्यक्ष लापोर्टासँग ‘निकै कम, एक वा धेरैमा दुईपटक मात्र’ कुरा गरेको बताए ।

“हामी निकै उत्साहित थियौँ । किनभने केही कुरा बाहिरिँदा हामी साच्चै क्लबले मलाई फर्काउन चाहना राखेको छ कि छैन भन्नेबारे कुराकानी गथ्र्यौँ । र, यो जाभी (प्रशिक्षक) र क्लबका लागि ठिक हुन्छ कि हुँदैन भन्नेबारेमा पनि । हामी सधैँ सम्पर्कमा हुथ्यौँ,” मेसीले भने ।

“हामीले सम्झौताको बारेमा कुरा गर्न पाएनौँ । एक प्रस्ताव आएर पनि गयो, तर त्यो कहिल्यै औपचारिक, लिखित, हस्ताक्षरसहितको प्रस्तावमा थिएन । किनकि, त्यहाँ यसबारे केही भएको नै थिएन । र, हामीलाई यो अब सम्भव हुन्छ वा हुँदैन भन्नेबारे पनि थाहा थिएन,” उनले भने ।

“त्यहाँ चाहना त थियो । तर यसबाहेक अघि हामीले केही गर्न सकेनौँ । हामीले कहिल्यै पैसाको बारेमा औपचारिक रुपमा छलफलसमेत गरेनौँ । यदि कुरा पैसाको हुन्थ्यो भने म साउदी अरेबिया वा अन्यत्र जान्थेँ,” उनले भने । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्