site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विद्युत् महसुल नबुझाउने ग्राहक कालोसूचीमा

वीरगंज । लामो समयदेखि विद्युत् महसुल नबुझाउने एक हजार ८२३ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर बक्यौता असुल्न कारबाही अघि बढाइएकोे हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यालय प्रमुख अवधेश दुबेका अनुसार कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते विवरण यकिन गर्न कर्मचारीको टोली परिचालन गरिएको छ । टोलीले यकिन गरेपछि ग्राहकमाथि थप कारबाही अघि बढाइने प्रमुख दुबेले बताए । 

कालोसूचीमा रहेका ग्राहकबाट सात करोड ६५ लाख ५६ हजार सात सय ६३ बक्यौता रकम उठाउन बाँकी रहेको कार्यालय प्रमुख दुबेको भनाइ छ ।
 
लामो समयदेखि वर्षा नहुनु, बढ्दो गर्मी र पर्सा–बारा करिडोरका औद्योगिक क्षेत्रका उद्योगमा विगतको भन्दा कम विद्युत्को उपयोग हुनुजस्ता कारणले आर्थिक वर्ष २०७९/८० मा विद्युत् चुहावट शून्य दशमलव पाँच प्रतिशतले बढेको छ ।

गत आव २०७८/७९ मा विद्युत् चुहावट चार दशमलव ९८ प्रतिशत रहेकामा आव २०७९/८० मा पाँच दशमवल ०३ प्रतिशत विद्युत् चुहावट भएको प्रमुख दुबेले जानकारी दिए ।

उनका अनुसार आव २०७९/८० मा विद्युत् महसुल नबुझाउने दुई हजार चार सय ६८ ग्राहकको विद्युत् लाइन काट्दा एक हजार ९०६ ग्राहकबाट ११ करोड ४० लाख ७२ हजार ६१५ बाँकी बक्यौता रकम असुली भएको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जका इन्जिनियर निर्मला फौजदारले बताए ।

त्यस्तै सो अवधिमा हुकिङ गरी विद्युत् चुहावट गर्ने ७१ जनालाई पक्राउ गरी जरिवानाबापत १२ लाख २४ हजार सात सय २४ राजस्व संकलन भएको इन्जिनियर फौजदारले जानकारी दिए ।

आव २०७९/८० मा दुई हजार ४४२ नयाँ ग्राहक थपिएको छ । यो सँगै वीरगंज क्षेत्रमा ग्राहकको संख्या ५४ हजार २०३ पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्