site stats
बाह्रखरी :: Baahrakhari
देश
रुप फेरेको विशेष अदालत– स्मार्ट बनाउने योजना 

काठमाडौं । जताजतै बिग्रेका गाडी, फोहोरको डंगुर, न सेवाग्राही बस्ने स्थान छ, न त पिउने पानी । क्यान्टिनको वरिपरि सबैतिर फोहोरै फोहोर । वरिपरि त थियो नै इजलास प्रवेश गर्ने गल्लीसमेत त्यस्तै ।

करिब ६ महिनाअघिसम्म काठमाडौंको बबरमहलमा रहेको विशेष अदालत परिसरमा देखिने दृष्य थियो, यो ।

तर यतिखेर तपाईं फरक देख्नुहुनेछ । विशेष अदालत प्रवेश गर्नासाथ जताजतै फूलैफूल, सफा, चिटिक्क । सेवाग्राही पिउने पानी, बस्ने बेञ्च लगायतका सुविधा ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

bishes1-1716706398.JPG
 

त्यतिमात्रै होइन, इजलासमा भएको बहस तल बसेर प्रत्यक्ष हेर्न सकिने संरचना निर्माण भएको छ । विशेष अदालतमा भ्रष्टाचार, गैरकानुनी सम्पत्ति आर्जन, निर्णयगत अनियमितता, नक्कली प्रमाणपत्र, रिसवत घुस, सम्पत्ति शुद्धीकरण मुद्दा हेरिन्छ ।

बाहिरको वातावरणजस्तै भित्र पनि तयार हुँदैछ । फटाफट मुद्दाको फर्छयौट हुने अदालतको रुपमा परिचित छ विशेष अदालत । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरका अनुसार, मुद्दाको छिनोफानो ‘फाष्ट ट्रयाक’मा भइरहेको छ ।

bishes3-1716706398.JPG
 

एक महिनामा २२ वटा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दाको फर्छयौट भएको छ भने पछिल्लो एक सातामा तीनवटा भइसकेको छ । गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दा १८ महिनाभन्दा पुराना एउटा पनि छैनन् । एक वर्षदेखि १८ महिनाभित्रको मुद्दा जम्मा एउटा छ त्यो पनि अन्तिम चरणमा बाँकी ६ महिनाभित्रै मुद्दाको छिनोफोनो भइरहेको कुँवर बताउँछन् ।

त्यस्तै, निर्णयगत अनियमिततासम्बन्धी मुद्दा ३२५ वटा रहेकोमा अघिल्लो महिनामात्रै २५७ वटा फर्छयौट भएका छन् । यसरी द्रूत गतिमा काम भइरहेको उनको टिप्पणी छ ।

“ढिलो न्याय दिनु न्याय नदिनुसरह हो,” विशेष अदालतका अध्यक्ष कुँवरले भने, “हामीले रिजल्ट देखाउनेगरी काम गरेका छौँ । रिजल्ट देखाउने गरी काम गर्ने हो भने हामीले कार्यालय समयभन्दा बढी काम गर्नैपर्ने हुन्छ । त्यसमा हाम्रो सिंगो टिम लागेको छ ।”

उनले पछिल्लो समय कुनै पनि आरोपी व्यक्तिको क्षमताभन्दा बढी धरौटी राखिँदिदा अदालतप्रतिको विश्वास कम भएको पाइएपछि त्यसलाई आफूहरुले ध्यान दिएको बताउँछन् ।

उनी भन्छन्, “हामीले एक हजारसम्म पनि धरौटी माग गरेका छौँ ।”

६ महिनाभित्रै जस्तोसुकै मुद्दाको पनि फैसला गर्नुपर्छ भनेर आफूहरुको टिम लागेको उनको भनाइ छ । “हामीले विदेशबाट पनि बयान दिन सकिने व्यवस्था गरेका छौँ,” उनले भने, “दुईवटा इजलासमा बसेर कन्फ्रेन्स रुममा प्रत्यक्ष हेर्न सकिने व्यवस्था पनि गरेका छौँ ।”

bishesh2-1716706399.JPG
 

विशेष अदालतमा वाइडबडी खरिद प्रकरण, पूर्व सचिवहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुरसहित १५ जना संलग्न मेलम्ची आयोजना, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, झापामा माओवादी नेता गगन पुरी संलग्न जग्गा प्रकरणलगायतका ठूला मुद्दा पनि छन् ।

ती पनि आफूहरु लक्ष्यअनुसार समयमै फर्छ्यौट गर्न लागिपरेको अध्यक्ष कुँवर बताउँछन् ।
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्