site stats
बाह्रखरी :: Baahrakhari
देश
बुकीमै बसेर यार्सागुम्बाको खोजी

म्याग्दी। जिल्लाको रघुगंगा गाउँपालिका–७, चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त छन्। बुकीमा ओढारमा बास बसेर पाइजासहित उनका साथीहरूले बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलन गरिरहेका छन् । चिमखोलाको कालीबराह बुकीदेखि धौलागिरि आइसफल आधार शिविर क्षेत्रमा यतिबेला यार्सा संकलन गर्नेको भीड लागेको छ । 

चिमखोलाका करिब ५० जना अहिले यार्सा संकलनका लागि बुकीमै बास बस्ने गरेको पाइजाले बताए । “करिब दुई महिनासम्म हामी बुकीमै बसेर यार्सा सङ्कलन गर्छौ, बिगतका तुलनामा यार्सा निकै थोरै भेटिने गरेको छ, दिनमा २० देखि २५ वटासम्म मात्रै हामीले यार्सा संकलन गरिरहेका छौँ,” पाइजाले भने । यसअघिका वर्षमा दिनमा २०० सम्म यार्सा संकलन हुने गरेको बताउँदै उनले यस वर्ष यार्सा कम भेटिएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यार्सा संकलकहरू यतिबेला बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन् । संकलन भएको यार्सा स्थानीय स्तरमा २०० देखि २५० रुपैयाँसम्ममा बिक्री हुने गरेको चिमखोले बुकीमा यार्सा संकलन गर्दै गरेका गमान गर्बुजाले बताए ।

यार्सा संकलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् । म्याग्दीमा केही वर्षअघि वार्षिक २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला वर्षहरूमा मात्रा घटेको छ । चालु आर्थिक वर्षमा आधा किलो यार्सागुम्बा संकलनका लागि मात्रै पुर्जी लिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले जानकारी दिए ।  

यार्सागुम्बा संकलन र निकासीका लागि राजस्व तिरेर संकलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्न पाइन्छ । हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा संकलनकर्ताले संकलन भएपछि मात्रै सोही बमोजिमको संकलन पुर्जी काट्न थालेका छन् । जिल्लाको चिमखोला, कुइनेमंगले, मल्कबाङ, मुदी, गुर्जालगायतका स्थानीयवासी अहिले लेकाली क्षेत्रमा यार्सा संकलनमा व्यस्त बनेका छन् ।

विशेष गरी वैशाखको मध्यदेखि जेठको अन्त्यसम्ममा हिमालको फेदीसम्म पुगेर जोखिम मोलेरै स्थानीयले यार्सा संकलन गर्ने गर्छन् । धवलागिरि गाउँपालिका–१ गुर्जाबाट करिब १५० जना यार्सा संकलनका लागि गुर्जा, चुरेन र पुथा हिमालको बुकीतर्फ गएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । उनले यार्सा संकलन हिमाली क्षेत्रका बासिन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको बताए । 

यार्सा टिप्न जानेहरूले देवीदेवताको पूजापाठ गरी काम सुरू गर्छन् । यार्सा संकलन हिमाली भेगका जनताका लागि मौसमी रोजगारी जस्तै बनेको छ । तर, जोखिमपूर्ण तवरले संकलित यार्साले उचित मूल्य नपाउँदा यार्सा संकलनकर्ताहरू निरास बन्न थालेका छन् । 

सर्वसाधारणबाट व्यवसायिहरूले प्रतिकिलो पाँचदेखि ६ लाख रुपैयाँसम्ममा यार्सा खरिद गर्ने गरेका छन् । हालको बजारमूल्य प्रतिकिलो आठदेखि १० लाख रुपैयाँसम्म रहेको जानकार बताउँछन् । रासस

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्