site stats
बाह्रखरी :: Baahrakhari
देश
मनसुनजन्य विपद्का घटनामा परी मृत्यु हुनेको संख्या १२० पुग्यो 
फाइल तस्बिर ।

काठमाडौं । मनसुनजन्य विपद्का घटनामा परी मृत्यु हुनेको संख्या १२० पुगेको छ । यो संख्या नेपालमा मनसुन सुरु भएदेखि मंगलबार दिउँसोसम्मको हो ।

यसवर्ष गत जेठ २८ गते मनसुन सुरु भएको थियो । मनसुन सुरु भएसँगै अविरल वर्षाका कारण बाढी, पहिरो लगायतका विपद्का घटनामा १२० जनाको मृत्यु भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा दुई जना, कोसी प्रदेशमा २२ जना, मधेसमा पाँच, वाग्मतीमा १५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिममा आठजनाको मृत्यु भएको छ ।

विपद्का घटनामा परी काठमाडौं उपत्यकामा आठजना, कोसी प्रदेशमा ३४ जना, मधेसमा ९ जना, वाग्मतीमा सातजना घाइते छन् । त्यस्तै, गण्डकीमा २८, लुम्बिनीमा ९, कर्णालीमा २९ र सुदूरपश्चिममा ११ गरी १३५ जना घाइते भएका छन् ।

कोसीमा ४१ र गण्डकीमा १२ जना गरी कुल ५३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । पहिरोमा परी कोसीमा दुईजना, मधेसमा एक, वाग्मतीमा दुई तथा गण्डकी, कर्णाली र सुदूरपश्चिममा एक–एक गरी आठजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण हालसम्म १८२ घर डुबानमा परेको जानकारी प्रहरीले दिएको छ । मनसुनजन्य विपद्का घटनाले २१३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ६५२ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्