site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अमेरिकाले नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्ने इच्छा किन राख्यो ?

काठमाडौं । अमेरिकाले नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्ने भएको छ ।  नेपालमा खाद्यवस्तु आयात गर्न सम्बन्धित सरकारी निकायको अनुमति लिए पुग्ने भए पनि अमेरिकी पक्षले प्रस्ताव नै राखेपछि यो चासोको विषय बनेको छ । 

काठमाडौंमा सेप्टेम्बर १६ मा आयोजित नेपाल–अमेरिका व्यापार तथा लगानी फ्रेमवर्क एग्रिमेन्ट (टिफा)को सातौँ बैठकमा अमेरिकी पक्षले प्रस्ताव राखेको थियो ।

अमेरिकी पक्षले नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्ने विषयमा चासो देखाएको थियो । जवाफमा नेपाली पक्षले खुला व्यापार नीति अँगालेको हुँदा कुनै बाधा नरहेको स्पष्ट पारेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आयात हुने मासुको गुणस्तरका हकमा अमेरिकी खाद्य सुरक्षा तथा निरीक्षण सेवा प्रमाणपत्र (एफएसआईएस फ्रम ९०६०–५) लाई नै मान्यता दिने प्रतिवद्धता नेपाली पक्षले जनाएको थियो । त्यही प्रतिवद्धतालाई अमेरिकी पक्षले स्वागत गर्दै निर्यातमा कुनै बाधा नहुने विषय संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

बैठकमा नेपालले आईटी सेवा उद्योगको प्रवर्द्धनको विषयमा जोड दिएको थियो । 

बैठकको नेतृत्व नेपालकातर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र अमेरिकी पक्षबाट दक्षिण तथा मध्य एसियाका लागि व्यापार प्रतिनिधि सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चले गरेका थिए ।

बैठकमा दुवै पक्षबीच आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउने र व्यापार तथा लगानीलाई विविधीकरण गर्ने विषयमा छलफल भएको थियो ।

अमेरिकाले नेपाली बजारमा किन देखायो चासो ?

वाणिज्य सचिव कार्कीले यो विषय अमेरिकी पक्षले पहिलेदेखि नै बैठकमा राख्दै आएको बताएका छन् ।  “उनीहरूले यो पहिलेदेखि राख्दै आएको एजेन्डा हो । खुला व्यापार नीति अँगालेका कारण हामीले कानुनअनुसार कुनै पनि वस्तुको आयातमा रोक नभएको स्पष्ट पारेका हौँ,” वाणिज्य सचिव कार्कीले भने ।

आयात हुने वस्तुको गुणस्तरका हकमा अमेरिकी सरकारबाट प्राप्त प्रमाणपत्रलाई मान्यता दिने प्रतिवद्धता व्यक्त गरेको उनले बताए ।  “यसको गुणस्तरका लागि निर्यातकर्ता वा ती कम्पनीले अमेरिकी सरकारबाट पाएको प्रमाणपत्रलाई नेपालमा पनि मान्यता दिने प्रक्रिया अनुसार काम गर्छाैं भनेका छौँ,” सचिव कार्कीले भने ।

नेपालमा खाद्य पदार्थको आयात गर्न चाहने खाद्य व्यवसायीले आयात गर्नुअघि स्वीकृति लिनुपर्छ ।  खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले खाद्य वस्तु आयात गर्दा खाद्य प्रविधि तथा गुण निण्न्त्रण विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

तुलनात्मक रूपमा अन्य मुलुकभन्दा नेपाली बजार सानो भए पनि अमेरिकाले किन चासो देखाएको हो भन्ने अनुमान मात्र गर्न सकिने उनको भनाइ छ । 

बैठकमा सरकारी स्तरबाट विभिन्न क्षेत्रको व्यापार विस्तार एवं प्रवर्द्धनका कुरा दुवै पक्षले राख्ने भएका कारण सोही अनुसार यसलाई पनि हेर्न सकिने वाणिज्य सचिव कार्कीले बताए ।

मासुमा आत्मनिर्भर नेपाली बजारलाई असर पर्ला ?

नेपाल सरकारले त्यहाँको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिएपछि ठूलो मात्रामा अमेरिकी मासु आयात हुने अवस्था बन्ने स्थिति नहुने सचिव कार्कीको भनाइ छ । 

“यो भयो भन्दैमा अब तत्काल आयात बढ्ने र हाम्रो बजार नै विस्थापित हुने भन्ने हुँदैन,” उनले भने ।  नेपालमा चीन, भारत, अष्ट्रेलिया, भियतनामलगायत देशबाट केही मात्रामा माछा र अन्य ‘फ्रोजन मिट’ आयात हुने गरेको छ । 

भन्सार विभागको तथ्यांक अनुसार, सुँगुर र कुखुराकै मासु किटान भएर भने खासै आयात भएको देखिँदैन । 

टिफाको बैठकले दुई देशबीचको व्यापारिक गतिविधि सहज बनाइदिने गरी काम गर्छ ।  यसै अनुसार, अमेरिकी पक्षले सुँगुर र कुखुराको मासु निर्यातका विषय पनि सामान्य रूपले राखेको देखिन्छ । तर, नेपाल मासुजन्य वस्तुमा आत्मनिर्भर भएका कारण यसलाई चासोको रूपमा हेरिएको हो ।

कति छ नेपाल–अमेरिकाबीचको व्यापार ?

भन्सार विभागका अनुसार, गएको आर्थिक वर्ष २०८०–०८१ मा अमेरिकासँग नेपालको व्यापार घाटा २ अर्ब १६ करोड ७८ लाख ६० हजार छ । गतवर्ष अमेरिकाबाट नेपालमा १९ अर्ब ४८ करोड २४ लाख २७ हजार रुपैयाँको सामग्री आयात भएको थियो । 

नेपालले १७ अर्ब ३१ करोड ४५ लाख ५६ हजार रुपैयाँ बराबरको सामान अमेरिकामा निर्यात गरेको थियो । अमेरिकाबाट नेपालमा सबैभन्दा धेरै आयात हुनेमा सोयबिन तथा कोइलाजन्य वस्तु, विमान तथा हेलिकोप्टरका पार्स्टसपुर्जा, कम्प्युटर सफ्टवयर प्रिन्टेड म्यानुअलगायत छन् । 

नेपालले अमेरिकामा सबैभन्दा धेरै निर्यात गर्ने वस्तुमा भान्सा, शौचालयलगायतमा प्रयोग हुने ग्लास–सेरामिक, महिलाको ट्राउजर र ब्रिच, कुकर–बिरालोका खानेकुरा, मूर्ति र लुगाजन्य वस्तु छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्