site stats
बाह्रखरी :: Baahrakhari
देश
रुकुम पूर्वमा अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु, चारजना घाइते
सांकेतिक तस्बिर ।

त्रिवेणी (रुकुमपश्चिम) । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गए राति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिस्ने–६ खोपिचारकी १२ वर्षीया बालिका विष्णु बुढामगर छन् । लुम्बनी प्रदेश ०२००१ ह ०३५० नम्बरको अटो मध्यपहाडी सडकको पाखाँगाउँबाट रुकुमकोट आउँदै गर्दा दुर्घटनामा परेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हिमबहादुर केसीका अनुसार, दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका–६ का १६ वर्षीय महेन्द्र बुढा मगर, सोही वडाकै १४ वर्षीया सुशीला बुढामगर, ११ वर्षीया सुस्मिता बुढामगर र अटोचालक सिस्ने गाउँपालिका–५ का ४० वर्षीय टोपबहादुर कार्की छन् ।

उनका अनुसार, गम्भीर अवस्था रहेका १६ वर्षीय महेन्द्रलाई थप उपचारका लागि नेपालगन्ज पठाएको छ । अन्य तीनजनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

अटो अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्