site stats
बाह्रखरी :: Baahrakhari
खेल
अग्रज पत्रकारिता पुरस्कारबाट भण्डारी र युवा पत्रकारिता पुरस्कारबाट सापकोटा सम्मानित

काठमाडौं । यस वर्षको एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ पत्रकार श्रीविक्रम भण्डारी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट विनयज्योति सापकोटा सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले २९औँ स्थापना दिवसका अवसर पारेर सोमबार ललितपुरको कोरियन बारबिक्युमा आयोजित कार्यक्रममा मेरो खेल डटकमका सम्पादक भण्डारी र कान्तिपुर टेलिभिजनका सापकोटालाई सम्मान गरेको हो ।

अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नाराका साथ मञ्चले हरेक वर्ष स्थापना दिवसको अवसरमा यो अवार्ड दिँदै आएको छ । पछिल्लो एक दशकदेखि मन्चले यो अवार्ड गर्दै आएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, वाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य रवि महर्जन, एनएसजेएफका कार्यवाहक अध्यक्ष निरन्जन अधिकारी र महासचिव प्रज्ज्वल ओलीले वरिष्ठ पत्रकार भण्डारीलाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे । सुदूरपश्चिमको डडेलधुरामा जन्मिएका भण्डारीले २०४४ सालदेखि खेलकुद पत्रकारिता गर्दै आएका छन् । २०४४ सालमा हुवाहुरीका कारण दशरथ रगंशालामा ९० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको समयमा रिपोर्टिङ गर्दै भण्डारीले आफ्नो करियर सुरु गरेका थिए ।

त्यस्तै, खेलकुदमन्त्री चौधरीले युवा पत्रकार सापकोटालाई ल्यापटप र ताम्रपत्र प्रदान गर्दै सम्मान गरेका थिए । सापकोटा पछिल्ला ६ वर्षयता खेलकुद पत्रकारितामा सक्रिय छन् ।

सम्मान कार्यक्रममा भण्डारीले तीन दशक अगाडि आफूहरूले स्थापना गरेको संस्थाबाट सम्मानित हुन पाउँदा खुसीको सीमा नै नरहेको बताए । पछिल्ला वर्ष मन्चले अन्तर्राष्ट्रिय समन्वयका साथै विभिन्न किसिमका गतिविधिहरूमार्फत नयाँ उचाइमा पुर्‍याउँदा आफूलाई धेरै खुसी लागेको उनले बताए ।

युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका सापकोटाले एनएसजेएफद्वारा प्रदान गरिँदै आएको यो अवार्ड एकदिन आफूले पनि हासिल गर्ने लक्ष्य लिएको र आज यो अवार्ड प्राप्त गर्दा खेलकुद पत्रकारितामा प्रोत्साहन मिलेको धारणाा राखे ।

युवा तथा खेलकुदमन्त्री चौधरीले सम्मानित पत्रकारद्वयलाई बधाई दिँदै नेपाली खेलकुद क्षेत्रले प्रतीक्षा गरिरहेको दशौँ राष्ट्रिय खेलकुद  निर्धारित मितिमा नै आयोजना गर्ने प्रयास भैरहेको बताए ।

राखेप सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुद विकासमा खेलकुद पत्रकारको भूमिका विशेष रहेको उल्लेख गर्दै आज खेलकुद पत्रकार सम्मानित भैरहँदा समग्र नेपाली खेल क्षेत्र नै सम्मानित भएको महसुस गरेको बताए ।

एनएसजेएफका कार्यवाहक अध्यक्ष निरन्जन अधिकारीले सम्मानित भएका अग्रज पत्रकार भण्डारी र अनुज पत्रकार सापकोटालाई बधाई दिँदै खेलकुद पत्रकारिताको व्यावसायिक स्तरोन्नतिका लागि गरिने विभिन्न किसिमको प्रशिक्षण कार्यक्रम सहयोग गरिदिन आग्रह गरे । मन्चका महासचिव ओलीले यस अवार्डका वर्षभर मन्चले आयोजना गर्ने विभिन्न कार्यक्रमबारे प्रकाश पार्दै राष्ट्रिय खेलकुद परिषद्मा एक समूहले गरेको तोडफोड घटनाबारे पनि निन्दा पनि गरेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्