
काठमाडौं । नौ गोल भएको दोस्रो सेमिफाइनलमा विश्वकप उपविजेता फ्रान्सविरुद्ध ५–४ को रोमाञ्चक जित निकाल्दै स्पेनले यूईएफए नेसन्स लिगको फाइनल यात्रा तय गरेको छ ।
बिहीबार राति जर्मनीमा भएको खेलमा स्पेनिस टोली युवा फरवार्ड लामिन यमलबाट प्रेरित रह्यो । स्पेनलाई जित दिलाउन यी युवा फरवार्डले दुई गोल गरे । पेड्री, मिकेल मेरिनो र निको विलियम्सले समान एक गोल थपे ।
फ्रान्सका किलियन एमबाप्पे, रान्डाल कोलो मुआनी र रायान चर्कीले समान एक गोल गरे । फ्रान्सले अर्को एक गोल भने आत्मघाती उपहार पाएको थियो । स्पेनका ड्यानी भिभियनले खेलको निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा आत्मघाती गोल गरेका थिए ।
खेलमा स्पेनले ५५औँ मिनेटसम्म फ्रान्सविरुद्ध ४–० को अग्रता बनाएको थियो । त्यसपछि इन्ज्युरी समयसम्म फ्रान्सले चार गोल फर्काए पनि हार टार्न सकेन ।
स्पेनले अब उपाधि भिडन्तमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल सन् २०१९ को नेसन्स लिग च्याम्पियन टोली समेत हो । स्पेनले भने गत वर्ष यूईएफए युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।