
काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओससँग पराजित भएको छ ।
न्यु लाओस राष्ट्रिय रंगशालामा मंगलबार सम्पन्न खेलमा लाओसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलोपटक पराजित भएको हो ।
लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक एक गोल गरे । नेपालविरूद्ध लाओसले खेलको १३औँ मिनेटमा पहिलो अग्रता लियो । लाओसका लागि दामोथले गोल गरे । त्यसपछि खेलको दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा नेपालले दोस्रो गोल खायो । लाओसका पिटरले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए ।
खेलमा २–० गोलले पछि परेको नेपालले खेलको ७१औँ मिनेटमा एक गोल फर्कायो । नेपालका मनीष डाँगीलाई लाओसका खेलाडीले बक्सभित्र खेलको ७१औँ मिनेटमा फाउल हाने । त्यसपछि नेपालले पेनाल्टीको अवसर प्राप्त गर्यो । सोही पेनाल्टीलाई सदुपयोग गर्दै मनीषले गोल गरे ।
त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः लाओसले नेपालमाथि २–१ गोलको एतिहासिक जित दर्ता गर्यो । यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको थियो । दुई खेलको समाप्तिमा नेपालले अंकको खाता खोल्न सकेको छैन ।
यसैगरी नेपाल र लाओस यसअघि ६ पटक आमने सामने भएका थिए । जसमा नेपालले चार खेलमा लाओसलाई हराउँदा दुई खेल बराबरीमा सकिएका थिए ।
नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन् । प्रतियोगितामा समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने १९औँ एसियन कप फुटबल प्रतियोगितामा भाग लिन पाउने छन् । नेपालले अब आफ्नो तेस्रो खेल आगामी अक्टोबरमा भियतनामसँग खेल्नेछ ।