site stats
बाह्रखरी :: Baahrakhari
देश
लुम्बिनीमा नेपालका लागि १९ देशका गैरआवासीय राजदूत भेला 

काठमाडौं । नेपालका लागि १९ देशका गैरआवासीय राजदूत आज लुम्बिनीमा भेला भएका छन् । नेपालमा लगानी र पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले उनीहरूलाई लुम्बिनीमा भेला गराइएको हो । 

परराष्ट्र मन्त्रालय र नेपालस्थित विभिन्न देशका अवैतनिक वाणिज्य दूतहरूको सहकार्यमा उनीहरूलाई भारतको नयाँदिल्ली र बंगलादेशको ढाकाबाट नेपाल बोलाइएको हो । “नेपाल हेर्ने नयाँदिल्ली र ढाकास्थित १९ देशका गैरआवासीय राजदूतहरूलाई आज एकसाथ लुम्बिनी लगिएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बाह्रखरीसँग भने, “नेपालमा पहिलोपटक यस्तो खालको कार्यक्रम गर्न लागिएको हो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीहरू सबै बुधबार काठमाडौं आइपुगेका हुन् । सबैजनालाई लाजिम्पाटस्थित एक होटेलमा राखिएको छ । बुधबार नै उनीहरूको सम्मानमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रात्रिभोजको आयोजना गरेका थिए । राजदूत सबैलाई बिहीबार बिहान काठमाडौंबाट लुम्बिनी लगिएको हो । लुम्बिनीमा भेला भएकामा नेपालका लागि अष्ट्रेलिया, बुल्गेरिया, चेक रिपब्लिक, इस्टोनिया, इन्डोनेसिया, मौरिसस, मंगोलिया, सर्विया, सेशेल्स, तान्जानिया, स्लोभेनिया, आयरल्याण्ड, साइप्रस, कोस्टारिका, लाट्भीया, स्पेन, डोमिनिकन रिपब्लिक, रोमानिया र पोल्याण्डका राजदूत तथा कार्यवाहक राजदूत छन् । 

नेपालमा अहिले आएका गैरआवासीय राजदूतमध्ये इन्डोनेसियाले बंगलादेशको ढाकाबाट नेपाल हेर्ने गर्छन् भने बाँकी सबैले भारतको नयाँदिल्लीबाट हेर्छन् । “आगामी अप्रिलमा लगानी सम्मेलन गर्दैछौँ । यसको लागि एउटा वातावरण बनाउन पनि हामीले गैरआवासीय राजदूतहरूलाई बोलाएका हौँ । उहाँहरूलाई बोलाउनुको मुख्य उदेश्य नेपालमा लगानी र पर्यटन प्रवर्द्धन गर्नु हो । यसलाई नेपाल प्रवर्द्धन कार्यक्रम भन्न सकिन्छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता राईले भने ।

बिहीबार उनीहरूले सबैभन्दा पहिला बुटबलस्थित केबलकारको अवलोकन गर्नेछन् । केबलकार चढेर उनीहरू बसन्तुपर डाँडामा जानेछन् । त्यहाँ उनीहरूलाई नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले दिवा भोज (लञ्च)को आयोजना गर्नेछन् ।

बिहीबार साँझ नै उनीहरू लुम्बिनीमा एक कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनेछन् । कार्यक्रममा लुम्बिनीका बारेमा उनीहरूलाई विस्तृत जानकारी दिइने छ । शुक्रबार बिहान लुम्बिनीमा नै उनीहरूको लागि पर्यटन प्रवर्द्धन र लगानीका विषयमा विशेष कार्यक्रम आयोजना गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कार्यक्रममा लगानी बोर्डका प्रतिनिधिले ‘नेपालमा लगानीको अवसर र प्रस्तावित लगानी सम्मेलन’का विषयमा उनीहरूलाई जानकारी दिनेछन् । 

सोही कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधिले नेपालमा पर्यटनको सम्भावना र अवसरका विषयमा गैरआवासीय राजदूतलाई प्रस्तुतीकरण दिनेछन् । कार्यक्रममा लगानी बोर्ड र नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूसँग गैरआवासीय राजदूतहरूले अन्तर्क्रिया समेत गर्नेछन् । 

शुक्रबार नै लुम्बिनी बगौचामा उनीहरूको लागि विशेष कार्यक्रमको आयोजना गरिनेछ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ उपस्थित हुनेछन् । कार्यक्रममा सहभागी गराउनुअघि गैरआवासीय राजदूतहरूले मायादेवी मन्दिरको अवलोकन गर्नेछन् । त्यहाँ गैरआवासीय राजदूतहरूले विश्व शान्तिको लागि प्रार्थना गर्ने कार्यक्रम छ । गैरआवासीय राजदूतहरू शनिबार बिहान मात्र लुम्बिनीबाट काठमाडौं आउने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्