site stats
बाह्रखरी :: Baahrakhari
देश
जनज्योतिका तत्कालीन लेखापाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल चुडामणी पोखरेल र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जगदिश चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले विद्यार्थीसँग बढी दस्तुर उठाई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा लेखापाल पोखरेलसँग आठ लाख ९२ हजार २६७ रुपैयाँ र अध्यक्ष चौधरीसँग दुई लाख २० हजार रुपैयाँ बिगो दाबी गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शैक्षिक सत्र २०७२ र २०७३ मा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट निजी श्रोत शिक्षकलाई तलब खुवाउने बहानामा विभिन्न शीर्षकमा चर्को शुल्क लिई अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा विद्यालयका तत्कालीन लेखापाल पोखरेलले आर्थिक वर्ष २०७२/०७३ मा लेखा श्रेस्ता दुरुस्त नराखेको, रसिद अनियन्त्रित रूपमा प्रयोग भएको, कतिपय अवस्थामा रसिदको प्रयोग नगरी रकम लिएको, विद्यार्थीहरूबाट दोब्बर दस्तुर लिएको, कुनै कारोबारमा रसिद प्रयोग नगरी कागजको चिटको भरमा रकम उठाएको पाइएको अख्तियारले जनाएको छ ।  

तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीले आफूखुसी चेक काटी रकम निकासा गरेको, तर उक्त चेक के का लागि काटिएको भनी उल्लेख नभएको र निकासा भएको रकमको खर्चको विवरण समेत नराखेकोले मुद्दा चलाइएको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्