site stats
बाह्रखरी :: Baahrakhari
देश
मनसुनी विपद् :  मृतकका परिवारलाई दुई लाखका दरले राहत निकासा
फाइल तस्बिर ।

काठमाडौं । मनसुनी विपद्जन्य घटनामा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरुप रु दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको छ । उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पुर्याएर पीडितपरिवारलाई राहत वितरण पनि गरिसकेका छन् । 

मनसुनको अवधिमा सबै प्रकृतिका विपद्का घटनामा परेर अहिलेसम्म १२५ भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मनसुनका समयमा देशभर परेको भारी वर्षाका कारण विपद्का घटना बढेपछि उच्च जोखिममा रहेका १२५ जनालाई सुरक्षा निकायद्वारा जीवित्तै उद्धार गर्न सफल भएको प्राधिकरणले जानकारी गराएको छ । 

प्राधिकरणका प्रवक्ता उपसचिव डा. डिजन भट्टराईले ओखलढुंगा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिए । 

प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत संघसंस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान वस्तु वितरण गरिएको जानकारी दिएको छ । 

मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरुप १५ हजारदेखि २० हजार रुपैयाँसम्म वितरण गरिएको जनाइएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्