site stats
बाह्रखरी :: Baahrakhari
देश
रानीपोखरीमा यस वर्ष छठ मनाउन नपाइने
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरले यस वर्ष रानीपोखरी छठका लागि खुल्ला नगर्ने बताएको छ । ०६३ यता छठका लागि रानीपोखरी खुल्ला गरिँदै आएको थियो । 

०७२ को भूकम्पपछि भने छठमा रानीपोखरीमा सामान्य पूजापाठ मात्र हुन्थ्यो । रानीपोखरीको पुनर्निर्माणपछि महानगरले ०७९ यता छठ मनाउन दिएको छैन । महानगरका अनुसार यस वर्ष रानीपोखरीबाहेक महानगरभित्रका अन्य पोखरी र नदी किनारमा भने छठ मनाउन पाइनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं महानगरका मेयर बालेन शाहका मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार रानीपोखरीको सांस्कृतिक महत्त्व छठसँग नभई भाइटीकासँग जोडिएको हुँदा छठका लागि रानीपोखरी खुल्ला नगर्ने तय भएको हो । उनी भन्छन्, “रानीपोखरीको सांस्कृतिक र परम्परागत विरासत भाइटीकासँग जोडिएको छ । त्यसैले रानीपोखरी छठ मनाउने ठाउँ होइन ।”

महानगरभित्रका अन्य पोखरी र नदी किनारमा भने छठ मनाउन पाइने बजगाईंले बताए । “छठको आफ्नै सांस्कृतिक महत्त्व छ । रानीपोखरीको आफ्नै सांस्कृतिक विरासत छ त्यसैले रानीपोखरी यसपटक छठका लागि खुल्ला हुँदैन,” बजगाईंले भने । 

०६३ यता रानीपोखरीमा मनाइने छठमा राष्ट्रपति, प्रधानमन्त्रीको पनि उपस्थित हुन्थ्यो । यस वर्ष २२ कार्तिकमा छठ पर्व परेको छ । भाइटीकाका लागि उक्त दिन मात्र खुल्ने रानीपोखरीको सांस्कृतिक पहिचान जोगाउन भनेर महानगरले रानीपोखरीमा छठ मनाउन नदिने बताएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्