site stats
बाह्रखरी :: Baahrakhari
देश
‘महिला बेचबिखनबारे बुझ्न प्रामाणिक पुस्तक’ 

काठमाडौं । समाजवादी विश्लेषक मीना पौडेल लिखित ‘साहस : महिला बेचबिखन, बहिष्कार र प्रतिकार’ महिला बेचबिखनका विविध पाटा उजागर गर्ने सवालमा नेपालमा पहिलो प्रामाणिक पुस्तकका रूपमा आएको सम्बद्ध विज्ञले बताएका छन् ।

“यो विश्वविद्यालयहरूमा कोर्स बुक बनाउन लायक छ,” शुक्रबार (चैत ८) नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘साहस संवाद’ कार्यक्रममा त्रिवि लैंगिक अध्ययन केन्द्रकी पूर्वप्रमुख प्रा. विन्दु पोखरेलले भनिन्, “नेपालमा महिला बेचबिखनबारे, बहिष्करणबारे यो पुस्तकमा जस्तो विधिले अध्ययन–अनुसन्धान गरिएको छ, त्यो महत्त्वपूर्ण छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली समाजको पितृसत्ताका सामाजिक, आर्थिक, राजनीतिकजस्ता संरचनाले महिला बहिष्करणलाई टेवा दिएको उनले बताइन् ।

मानवशास्त्री सुरेश ढकालले महिला बेचबिखन र बहिष्करणका जटिल र मिहिन सवाललाई ‘साहस’मा सरल ढंगले सैद्धान्तीकरण गरिएको टिप्पणी गरे । “बेचबिखन र बहिष्करणलाई लिएर नेपाली भाषामा पहिले यस्तो किताब लेखिएको मेरो जानकारीमा छैन,” उनले भने, “यस विषयलाई बुझ्न नेपालीमा यो पहिलो प्रामाणिक पुस्तक हो ।”

नेपालमा राजनीतिक परिवर्तनपछि पनि महिला बेचबिखन र बहिष्करणजस्तो आपराधिक कृत्य नरोकिनु उदेकलाग्दो भएको उल्लेख गर्दै अनुसन्धाता जेबी विश्वकर्माले प्रश्न गरे, “यस्तो दुष्कर्म रोक्न उपयुक्त नीति किन अझै बन्न सकिरहेको छैन ? महिला संगठनहरू किन प्रभावकारी आवाज उठाउँदैनन् ?”

‘साहस’ सर्जक पौडेलले राजनीतिकर्मीले नचाहेर नै महिला बेचबिखन रोकिन नसकेको जिकिर गरिन् । “बेचबिखनका दलाल, म्यानपावर व्यवसायी र राजनीतिकर्मीहरूको दह्रो नेक्ससले गर्दा यो रोकिन नसकेको हो,” उनले भनिन्, “महिला बेचबिखनबाट राजनीतिक तहले आर्थिक लाभ लिइरहेको छ ।”

‘साहस’ किताब पब्लिसर्सले प्रकाशन गरेको हो । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा थुप्रै अनुसन्धानमूलक लेख–रचना प्रकाशित गरिसकेकी पौडेलको नेपाली भाषामा यो पहिलो पुस्तकाकार कृति हो । पौडेलको विद्यावारिधि अनुसन्धानबाट विकसित भएर सन् २०११ मा अंग्रेजीमा छापिएको यो पुस्तक फ्रेन्च, जर्मन, इटालियन, पोलिस र पोर्चुगिज भाषामा समेत प्रकाशित भइसकेको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्