
काठमाडौं । इरानले परमाणु वार्ता गर्नुअघि अमेरिकाले पुनः आक्रमण नगर्ने प्रतिबद्धता जनाउनुपर्ने बताएको छ । अमेरिकाले कूटनीतिक वार्ता पुनः सुरु गर्दै इरानसँग परमाणु समस्या समाधान गर्न चाहेको हो भने उसले इरानमा थप हमलाहरू नगर्ने प्रतिबद्धता जनाउनु पर्ने इरानको प्रस्ताव छ ।
इरानका उपविदेशमन्त्री मजिद तख्त–रवान्छीले ट्रम्प प्रशासनले मध्यस्थकर्ताहरूमार्फत इरानलाई वार्तामा फर्कन चाहेको बताए पनि वार्ता चलिरहँदा थप हमलाहरूको बारेका महत्वपूर्ण प्रश्नमा आफ्नो अडान स्पष्ट नगरेको बीबीसीलाई बताए ।
इजरायलको जुन १३ मा इरानबिरुद्ध सैन्य कारबाही सुरू गरेको थियो । यसका कारण दुई दिनपछि मस्कटमा हुने भनिएको छैटौँ चरणको अप्रत्यक्ष परमाणु वार्ता विफल भएको थियो ।
इरानका तीन आणविक स्थलहरूमा बमबारी गरेर अमेरिका गत साता इजरायल र इरानबीचको द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न भएको थियो ।
इरानी मन्त्री तख्त–रवान्छीले इरानले शान्तिपूर्ण उद्देश्यका लागि युरेनियम परिष्करण गर्न पाउनुपर्छ भन्नेमा अडिग रहने भन्दै इरान गोप्यरूपमा आणविक बम बनाउनतिर अघि बढिरहेको भन्ने आरोपलाई अस्वीकार गरे ।
उनले इरानलाई आफ्नो अनुसन्धान कार्यक्रमका लागि आणविक सामग्रीमा पहुँचबाट वञ्चित गरिएको भन्दै त्यसैले इरान आत्मनिर्भर हुनुपर्ने पनि बताए ।
“परमाणु परिष्करणको स्तरबारे छलफल गर्न सकिन्छ, क्षमताबारे छलफल गर्न सकिन्छ,” उनले भने, “तर, तपाईंले परिष्करण गर्नुहुँदैन । शून्य परिष्करण हुनुपर्छ । यदि, सहमत हुनुहुन्न भने हामी तपाईंलाई बमबारी गर्नेछौँ भन्नु जंगलको कानुन हो ।”
इजरायलले १३ जुनमा इरान आणविक हतियार बनाउने अवस्थामा नजिक पुगिसकेको भन्दै इरानका आणविक र सैन्य स्थलहरूलाई निशाना बनाउँदै सैन्य कमान्डरहरू र आणविक वैज्ञानिकहरूको हत्या गरेको थियो ।
इरानले इजरायलमाथि मिसाइलहरू प्रहार गरेर जवाफ दिएको थियो ।
१२ दिनसम्म युद्ध जारी रह्यो । यसै दौरान अमेरिकाले इरानका तीन आणविक स्थलहरू फोर्डो, नटान्ज र इस्फहानमा शक्तिशाली बम खसालेको थियो । बीबीसी